२०८३ भाद्र २७ गते शनिवार

प्रचण्डसहित चितवनको टोलीद्वारा प्रधानमन्त्री देउवासँग भेट

काठमाण्डौ,असार २८ । चितवन क्षेत्र नम्बर ३ का सांसद समेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको छ ।

जिल्लाका विभिन्न समस्याका बारेमा अवगत गराउने उद्देश्यले जिल्लाको प्रतिनिधिमण्डलले आज मङ्गलवार प्रधानमन्त्री देउवालाई भेट गरेको हो ।

भेटमा सहभागी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालका अनुसार भरतपुर विमानस्थल विस्तार, अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण, माडी क्षेत्रको भूमिगत विद्युतीकरण रोकिएको विषय, माडी जङ्गल क्षेत्रको हुलाकी सडकको स्तरोन्नति लगायत विषयमा प्रधानमन्त्रीसँग छलफल भएको हो ।

यसअघि चितवनको टोलीले हिजो सोमवार नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका दाहाललाई भेट गरी यहाँको अवस्थाको बारेमा जानकारी गराएको थियो । यससँगै दाहालसहितको टोली आज प्रधानमन्त्रीलाई भेट्न पुगेको हो ।

प्रतिनिधिमण्डलसँगको भेटपछि प्रधानमन्त्री देउवाले प्रचण्ड र महानगरकी मेयर दाहाल सामु मुख्य सचिव शङ्करदास बैरागी, प्रधानसेनापति प्रभुराम शर्मा, निजी सचिवलगायत सरोकारवालालाई बोलाएर छलफल गरी तत्काल काम अघि बढाउन निर्देशन दिएका छन ।

महानगरकी मेयर दाहालका अनुसार प्रधानमन्त्री देउवाले विमानस्थल विस्तार, क्रिकेट रङ्गशाला, माडी क्षेत्रको भूमिगत विद्युतीकरणको कार्य र जङ्गल क्षेत्रको हुलाकी सडकको स्तरोन्नति तत्काल अघि बढाउन निर्देशन दिएका हुन ।

महानगरकी मेयर दाहालले प्रधानमन्त्रीसँगको भेट सकारात्मक भएकाले जिल्लावासीको मागको सुनुवाइ हुने विश्वास व्यक्त गरिन । महानगरपालिकाले विमानस्थल विस्तारका लागि निकै पहिलेदेखि पहल गर्दै आएको छ ।

भेटमा राजनीतिक दलका प्रतिनिधि, राष्ट्रिय सभाका सदस्य, भरतपुर र माडीका पूर्व र वर्तमान जनप्रतिनिधिलगायत सरोकारवाला सहभागी थिए ।

प्रकाशित मिति : २०७९ असार २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *