२०८२ चैत्र १ गते आइतवार

नागरिकता वितरणमा भइरहेको बाधा पन्छाउन विधेयक फिर्ता – गृहमन्त्री

काठमाण्डौ,असार २४ । गृहमन्त्री बालकृष्ण खाणले नागरिकता वितरणमा भइरहेको बाधालाई पन्छाउनका लागि सरकारले नागरिकतासम्बन्धी विधेयक प्रतिनिधि सभाबाट फिर्ता लिएको बताएका छन ।

आज शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री खाणले प्रतिनिधि सभामा अहिले भएको नागरिकतासम्बन्धी विधेयक यथास्थितिमा बसिरहँदा नागरिकता वितरणको काममा बाधा उत्पन्न भएको बताए ।

उनले नागरिकता वितरणमा भइरहेको बाधा पन्छाउनका लागि विधेयक फिर्ता लिएको बताए । उन नागरिकतासम्बन्धी नयाँ विधेयक संसदमा पेस हुने पनि जानकारी गराए ।

गृहमन्त्री खाणले भने, ‘हामीले नयाँ विधेयक राजनीतिक दलहरूको सहमतिमा पास गर्न सकौँ । अहिलेको यो अवस्था हाम्रो राष्ट्रिय समस्या नै भइसक्यो । नागरिकताबाट वञ्चित भएकाहरूलाई हामीले नागरिकता दिलाऔँ । नागरिकताको कारणले अझै राष्ट्रवाद बलियो हुन सकोस् । आजै मन्त्रिपरिषद् बैठक बस्नेछ, आजै नागरिकता विधेयक फेरि प्रस्तुत हुनेछ । त्यो विधेयकमा माननीयज्यूहरूले राख्नुभएको चासोलाई गम्भीरतापूर्वक नै सम्बोधन गरिनेछ ।


यो अहिले यत्तिकै यथास्थितिमा बसिरहँदा नागरिकता वितरण गर्ने काममा बाधा उत्पन्न भएको छ । यही बाधा पन्छाउनका लागि नै विधेयक फिर्ता लिएको हो ।’

उनले सरकारले पेस गर्ने नागरिकतासम्बन्धी विधेयक पूर्ववर्ती विधेयकलाई नै मूल आधार बनाएर ल्याइने बताए ।

प्रकाशित मिति : २०७९ असार २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *