काठमाडौं,असार १३ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले विभिन्न देशको भ्रमण तथा मित्रराष्ट्रका सरकार प्रमुखको नेपाल भ्रमणले मित्रराष्ट्रसंगको सम्बन्ध थप प्रगाढ भएको दावी गरेका छन्।
राष्ट्रियसभाको सोमबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले द्विपक्षीय भ्रमणको आदानप्रदानले सम्बन्ध थप विस्तारित भएको तथा नेपालको सार्वभौमसत्ता, अखण्डतामा कुनै पनि आँच आउन नदिइएको समेत बताए ।
उनले कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका नेपाल–भारतका बीचमा नसुल्झिएका सीमा समस्या समाधानका लागि सरकारले निरन्तर प्रयास गरिहेको परराष्ट्रमन्त्रीले जानकारी दिए।
उनले सीमा क्षेत्रमा निर्माण गरिएका भौतिक पूर्वाधारका कारण नेपाली भूमि डुबानमा पर्ने अवस्थाको अन्त्यका लागि समेत सरकारले स्पष्ट दृष्टिकोणका साथ भारत सरकारलाई आग्रह गरेको जानकारी दिए ।
वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउन सरकारले प्रयास गरिरहेको उनको भनाई छ। मन्त्री खड्काले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै अघि बढेको उल्लेख गरे।