काठमाडौँ,असार १ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका शीर्ष नेताहरूलाई अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) सम्झौता नगर्ने आश्वासन दिएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको भेटवार्तामा देउवाले यस्तो आश्वासन दिएका हुन्।
दाहाल र नेपालले सोमबार भएको भेटमा देउवालाई यो विषयको बारेमा अगाडि नबढ्न सुझाव दिएका थिए।
देउवाको असार अन्तमा हुने अमेरिका भ्रमण र त्यहीँ बेला सम्झौतामा हस्ताक्षर गर्न अमेरिकाले दबाब दिइरहको बेलामा देउवाले सत्ता सहयात्री दलका शीर्ष नेताहरूलाई सम्झौता अगाडि नबढाउन वचन दिएका हुन्।
अध्यक्ष नेपालले मंगलबार बसेको एकीकृत समाजवादीको बैठकमा पनि प्रधानमन्त्रीले यस विषमा हस्ताक्षर नगर्ने बताएको ब्रिफिङ गरेका थिए।
बुधबार बिहान पनि सत्ता गठबन्धनको बैठक बसिरहेको छ। बैठकमा यस विषय बारेमा कुरा भएको बुझिएको छ।