दाङ, जेठ ६ । नेपालगञ्ज उपमहानगरपालिकाका नेपाली काँग्रेसबाट मेयरका उम्मेदवार प्रशान्त विष्ट र उपमेयरमा जसपाका कमरुद्दिन राई जित नजिक पुगेका छन् ।
२३ वडा मध्ये २१ वडाको अन्तिम मतपरिणाम सार्वजनिक भइरहँदा विष्ट र राईको अग्रता निकै फराकिलो छ ।
वडा नम्बर १३ र १४ को मतगणना पनि अन्तिम चरणमा पुगिसकेको छ । हालसम्म गणना भएका २१ वडाको अन्तिम मतपरिणाम अनुसार नेपाली कांग्रेसका विष्टले २१६७८ मत प्राप्त गरेका छन् ।
बिष्ट नेकपा एमालेका पशुपतिदयाल मिश्र भन्दा १०६८६ मतले अगाडि छन् । जबकी यहाँ वडा नम्बर १३ र १४ को खसेको मत ३६०० हाराहारी मात्रै हो । मेयरमा राप्रपाका नन्दलाल बैश्यले ७१४५ मत प्राप्त गरेका छन् ।
उपमेयरमा पनि गठबन्धन दलबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका राईको जित सुनिश्चित भइसकेकोे छ । उनले १६११८ मत प्राप्त गरि सकेका छन् ।
यहाँ उपमेयरमा एमालेकी शान्तिदेवी ढकालले १०४१४ मत प्राप्त गरेकी छन् । उनीहरुको बीचमा ५७०४को मतान्तर छ ।
त्यस्तै उपमेयरमा राप्रपाकी विन्दु चर्ती मगरले ९६४८ मतका साथ तेस्रो स्थानमा छिन् ।