पाल्पा,जेठ १ । फर्जी मत भेटिएको भन्दै विभिन्न दलहरुले पाल्पाको रम्भा गाउँपालिकामा पुनः मतदानको माग गरेका छन् ।
रम्भा गाउँपालिकाका एकीकृत समाजवादी, नेपाली कांग्रेस, माओवादी केन्द्र र मंगोल नसनल अर्गनाइजेसनले संयुक्त विज्ञप्ति जारी गर्दै निर्वाचन प्रक्रिया र मतगणना अस्वीकार गरेका छन् ।
रम्भा गाउँपालिका वडा नं ५ ताहुँको मतगणना गर्ने क्रममा ७४ मत फर्जी भेटिएको उनीहरुको दाबी छ । मतगणना गन्दा आवश्यक सीसी टिभी व्यवस्था नगरिएको र मतपेटिका ढुवानी गर्ने क्रममा गठबन्धन दलका प्रतिनिधिहरु सहभागी नगराइएको आरोप पनि उनीहरुले लगाएका छन् ।
दलहरुको संयुक्त विज्ञप्तिमा उनीहरुले आवश्यक बिजुलीबत्तीको वैकल्पिक व्यवस्था नगरिएको, दलका भातृ संघसंगठनमा रहेका गाउँपालिकामा कार्यरत कर्मचारीहरु प्रयोग गरिएको, मतगणना स्थगन भइसकेपछि पनि दलका प्रतिनिधि नराखिएको, एक पक्षीय रुपमा व्यक्तिहरुलाई मत गणनास्थलमा प्रवेश दिइएको, मतपेटिका अध्याँरो तथा अन्य सामग्री भएका स्थानमा राखिएको आरोप लगाएका छन् ।
‘गाउँपालिका भित्रका अन्य मतपत्रहरु पनि सुरक्षित नदेखिएको जस्ता विषयमा खेद व्यक्त गर्दै मतगणना कार्यमा संलग्न कर्मचारीहरुलाई नियमानुसार। विभागीय कारवाही तथा पूनः मतदानका लागि माग गर्दै हालसम्म सार्वजनिक नतिजाप्रति असहमति रहेको व्यहोरा जानकारी गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ ।