२०८१ असोज ३ गते बिहिवार

मेसिनगन कि ब्रेनगन


डिल्ली बस्नेत ‘संगीत’


‘‘दाई अचेल मलाई जिन्दगी देखि नै वाक्क दिक्क लागिसक्यो ।’’
‘‘किन र भाई ? किन त्यस्तो निराश कुरा गर्दैछौ ? ’’
‘‘के गर्नु दाई , जमाना धेरै वदलिसक्यो । तर म भने ….. ’’
‘‘किन तिमीले आफूले आफूलाई कम्जोर ठान्दैछौ हँ ? ’’
‘‘के गर्नु दाई आफूले आफूलाई जतिसु‘कै शक्तिशाली ठाने पनि वाहिरको परिवेशले शिथिल बनाउँदै लग्दो रहेछ । ’’
‘‘हेर भाई वाहिरको दुनिया तिम्रो होइन । तिमी भित्रको दुनियालाई चिन्न सकेनौ भने वाहिरको दुनियामा तिमी सदैव भड्कीरहन्छौ । ’’ यो कुनै फिल्मी संवाद होइन । वर्तमान युवापुस्ताको प्रतिनिधि आवाज बोकेको संवाद हो । मान्छेले जेजस्तो सोच्छ उसको दुनिया त्यस्तै वन्दै जाँदो रहेछ । आशावादीहरु हरेक समस्यामा अवसरहरु देख्दै जान्छन् । निराशावादीहरु हरेक अवसरहरुमा पनि समस्या देख्दै जाँदोरहेछन् ।


साँगुरो सोच र संकिर्ण मानसिकताको उपज नै जीवनको वर्वादी हो । हरेक वादभित्र अपवाद छ । विभिन्न वादको चङ्गुलभित्र जन्मिएका हरेक अपवादहरुले नै जीवनलाई दिग्भ्रमित पार्दछन् । दिग्भ्रमित मनस्थितिले सोचलाई खल्वल्याउँछ । सोच नै शक्ति हो । जव सोचमै खरावी आउँछ तव त्यसले मनस्थितिमा नराम्रो प्रभाव पार्छ ।
शब्दमा शक्ति छ ।

अनि शव्दमा जादुगरी पनि छ । शब्दले हँसाउछ । मनको अँध्यारो पर्दा च्याथेर उज्यालोमा बाँच्न सिकाउँछ । अनि, शब्दले धुरु धुरु रुवाउँछ पनि । बर्षौदेखि चट्टान झैँ जमेर रहेका राग, द्वेष र कलेषहरुलाई अन्जानमा आँसुसंगै बगाउँछ । कहीँ शब्द पड्किन्छ बमसंगै । र, भत्काउँछ सामन्ती सोँच र सत्ताका पर्खालहरु । अनि, कहीँ शब्द पग्लिन्छ मैन बैत्तीसंगै । र, उज्यालो छर्दै बाँच्न सिकाउँछ । जे होस् शब्द एक छ । तर, रुपहरु अनेक छन् यसका ।


कायरहरु झस्किन्छन् हरेक शब्दसंगै । उनीहरुलाई थाहा छ शब्दको जादुगरी । अनि थाहा छ शब्दको अद्भूत शक्ति पनि । शब्दसंग सिँगौरी खेल्ने ताकत हुन्थ्यो भने किन भाँच्न खोज्थे कलमहरु । अनि, किन निमोठ्न खोज्थे सुकोमल गलाहरु । कायरहरु सदैव उज्यालोसंग डराउँछन् । उज्यालोमा कहिल्यै बस्न सकेनन् उनीहरु । र, बाँच्न सकेनन् कहिल्यै पनि सुखोमनले । सायद, अँध्यारोमा बाँच्न सजिलो लाग्दोहोला उनीहरुलाई । अँध्यारोमा तीर हान्न पल्केका कायरहरुलाई उज्यालो कहिल्यै पचेन । उज्यालो उनको वर्ग दुश्मन हो क्यारे ।

कायर मानसिकताका मनहरुलाई वेलैमा चिन्न सकिएन भने उज्यालो जिन्दगी कहिल्यै भेट्न सकिदैन ।
विगतले धेरै बलिदान दियो । विगतले धेरै पाठ सिकायो पनि । तैपनि, त्यो पाठ सिक्न चाहेनौँ हामीले । विगतले जतिसुकै वलिदान दिए पनि त्यो वलिदानको कदर बर्तमानमा हुन सकेन । त्यसैको परिणाम होे अँध्यारोको निरन्तरता । वर्तमान भनेकै उज्यालो हो । उज्यालो भनेकै वर्तमानको आधार स्तम्भ हो ।

वर्तमान कुन दिशातर्फ गइरहेको छ ? वर्तमानले के मागिरहेको छ ? वर्तमानको मागलाई हामीले सम्बोधन गर्न सक्यौँ या सकेनौँ ? वर्तमानलाई हामी चिन्ने प्रयास ग¥यौँ या गरेनौँ ? हामी केवल विगतलाई कोट्याउन व्यस्त छौँ । विगतका गाथा र महिमाले वर्तमान बलियो हुनसक्दैन । विगतलाई सच्याउँदै वर्तमानका तीखा धारहरुमा हिड्न हामी कति अभ्यस्त भयौँ ? त्यो नै वर्तमानको माग हो । त्यो मागलाई पूरा गर्न मेसिनगन होइन अव ब्रेनगनको साहारा लिनु पर्छ । ब्रेनगन भनेकै स्वस्थ सोँच र बलियो चिन्तन हो । तर, दुर्भाग्य ! अहंकारको गन बोकेर हामी कसैको गलो निमोठ्न व्यस्त छौँ । कपुरी ‘क’ को कलाकारिताले विश्व सिँगार्न सक्छ भन्ने कुरामा विश्वास हामीलाई छ कि छैन ? वर्तमानको यक्ष प्रश्न यो हो ।


भोलिका लागि बाँच्ने मान्छेहरु आजसंग खेलबाड गर्न सक्दैनन् । भोलिको भविष्य बुझेका मान्छेहरु वर्तमानलाई सदुपयोग गर्न आतुर हुन्छन् । भोलिको माहोल बनाउने भनेकै वर्तमानलाई बनाउनु हो । तैपनि, आजको दिनमा हामी के गर्दैछौँ ? राम्रो काम गरेर दिन व्यतित गरिरहेका छौँ कि अर्कैको टिका टिप्पणी गरेर दिन वर्वाद पारिरहेका छौँ ? राम्ररी सोच्नु पर्ने वेला आइ सकेको छ । अर्थपूर्ण जिन्दगी खोज्न बाहिर बाहिर भौतारिएर हुँदैन । हामीले जे खोजिरहेका छौँ त्यो बाहिरको दुनिया हो ।

बाहिरको दुनिया भनेकै अस्थिर दुनिया हो । बाहिरको दुनिया भनेको ध्वंशको दुनिया हो । अस्थिर दुनियाले स्थिर मन हुनसक्दैन । अस्थिर मनले प्रगति होइन दुर्गति निम्त्याउँछ ।
बाहिरको दुनिया नकारात्मक तत्वले भरिएको छ । त्यही नकारात्मक तत्वले हरेकको मनमा शान्ती र अमन चैन खोसेको छ । कयौँको घरबास उजाडिएको छ । कयौँको आशा निराशको वादलमा मडारिएको छ । त्यही नकारात्मक चिन्तनको छूराले हामी भित्र भित्रै रेटिएर आत्महत्या गरिरहेका छौँ । ज्यूँदो लाश भएर बाँच्न बाध्य भएका छौँ । कतिन्जेल मनमा मेसिन गन लिएर बाँच्ने ?


मान्छेलाई मार्न हतियार चाहिदैन । हतियारले हानेको मान्छे सजिलै मर्न सक्छ । तर, गलत चिन्तन र विचारले मान्छेलाई पल पल मारिरहेको हुन्छ । शत्रुलाई मार्न धेरै सजिलो छ । शत्रुलाई हतियारले होइन उसको मनमा गलत सोँच र विचारको जहर घोलिदिए पुग्छ । हामी हरेक दिन कस्तो खाले विचार बोकेर जन्मिरहेका छौँ ? विहान उठेदेखि साँझ सुत्दासम्म हाम्रो मनमा कस्ता खाले विचारहरु जन्मिरहेका छन् ? ती विचारहरुको श्रृङ्खलावद्ध कहानी नै हाम्रो भोलिको भविष्य हो ।

वर्तमानको मेसिनगनले भोलिको भविष्य कहिल्यै पनि उज्यालो हुँदैन । भोलिको उज्ज्वल भविष्यको रुप रेखा कोर्नु छ भने आजदेखि नै व्रेनगन चलाउन जान्नु पर्छ । स्वस्थ मन भन्नु नै स्वस्थ विचार हो । तैपनि, हामी मनमा अनेक तरहका खराव चिन्तनहरु बोकेर बाँचिरहेका छौँ ।


जीवन गतिशिल छ । जीवन उर्जावान छ । जव सकारात्मक सोँच र चिन्तनको विकास हुन्छ तवमात्र नै त्यो उर्जाले जीवनमा परिवर्तन ल्याउन सक्छ । तर, जीवनको उर्जाशिल समयमा नकारात्मक पक्षको मेसिनगन हावी हुँदै गयो भने अवश्य नै वर्वाद बनाइ दिन सक्छ । समुन्नत र स्वस्थ जीवनले सदैव मेसिनगन होइन व्रेनगन खोजिरहेको हुन्छ ।


अस्तु

प्रकाशित मिति : २०८१ साउन २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *