आकाश भण्डारी
बुढी फुटेका चुरा नलगाउ है । बुढी हो म युवा नेता हो । म युवा नेता हो । मलाइ प्यारो भाइ भतिज छोरा भनेर ममता गरि बोलाउने मेरा अग्रज पार्टीका नेताहरु हुनुहुन्छ ।
मलाइ के अप्ठेरो प¥यो भने बचाउने सघाउने उहाँहरु नै हो बुढी । म सानोतिनो नेता कहाँ हो र बुढी मेरो ठुलै पहुँच छ बुझेउ । अबदेखि नुन, चामल,दाल,तेल ल्याउने पैसा नमाग्नु है । म कार्यक्रममा जानु छ ।
ढिला भइ सक्यो । बरु दुइचार हजार देउ न है । चिया खुवाउनु पर्छ भाइहरुलाइ । तिमी ढुक्क भएर बस है बुढी । म युवा नेता हो । मेरो नामले तिम्रो छुट्टै इज्जत बढेको छ । मेरो पार्टी र समाजमा ।
बुढी कच कच नगर न । पल्लो घरको साथीको बुढो अमेरिका गएको छ । उस्ले पैंसा कमायो घर बनायो घडेरी किन्यो भनेर मलाई तुलना नगर है ।
हेर जति गरेपनि उ र म मा धेरै फरक । कति फरक तिमी बुझ्दैनौं राजनीतिक भाषा । म फलानो केन्द्रीय नेता संग दिनहुँ भेट्छु । संगै हिड्छु । मन्त्री संग हिड्छु । सँगै खान्छु ।
मलाई यसरी ठूला बडासंग हिडेको देख्नेहरु आरिस गर्छन ।
अझ यत्ति हो र ? उहाँकै गाडीमा कार्यक्रममा आमसभामा जाँदा मानिसहरु यस्तो जीवन भन्ने गर्छन ।
त्यस्ता कार्यक्रमहरुमा मलाइ आशन ग्रहण हुन्छ । भाषण दिन्छु । युवा स्वरोजवार र महिला अधिकारका कुरा स्थापित गरिदिन्छु । मेरो भाषण सुन्नेहरुले ताली बजाउँदै वा…उउउ क्या भाषण भन्छन् । हेर त मेरो इज्जत । बाटो भरि सबैले नमस्कार गर्छन । नेता संग केही कुरा भनिदिनु भनेर बिन्ति बिसाउँछन । मन्त्री संग बिकास मागीदिनु भनेर शोर्ष लगाउँछन् । तिम्रो बुढो चानचुने मानिस हैन नि । बेकारमा तिमी मलाई बे कामको भनेर साँझ बिहान किचकिच गर्छेउ ।
बुढी त्यो फुटेको चुरा नलगाउ है। छिट्टै मेरो हाम्रा दिन आउने छन् । मेरो भाषणले पैंशाहरु फलाउने छ । बिकासहरु भित्याउने छ । हो म कुनै दिन यो समाजको नेता बन्ने छु । किनकी मैले अरु कुनै पेशा वा काम गरेको छैन । र गर्नुपनि पर्ने छैन । अहिले तिमी लगानी गर म पावरमा पुगेपछि सत्तामा उक्लिएपछि हाम्रा दिन फिर्ने छन् । तिम्रो हातमा सुनका बाला, घाँटीमा सुनका माला । आहा… कल्पना गर त । सररर्् गाडीमा अगाडि पछाडि सुरक्षाकर्मी । त्यो सान र मान कल्पना गरिकी छौ ?
त्यसैले बुढी क्षणित अभावलाई हेरेर दाल, चामल ,तेल,नुन, बेसार आदी छैन नभन है । म भविश्य दृष्टा हौं । मैले यो सबै हाम्रै भविश्यका लागि गरि रहेको छु । किन मैले श्रम गर्नु प¥यो ? किन मैले ब्यापार बिजिनेस गर्नु प¥यो । अहिलेको राजनीति लगानी नै मेरो भोलिको जागिर सुनिश्चित गर्ने आधार स्तम्भ हो । तिमी आज लगानी गर । म भविश्यमा ब्याजसहित त्यो अशुल उपर गरि तिम्लाई दिलाउने छु ।
तिमी सुस्त बोल । मेरो इज्जतको ख्याल गर । पल्लो घरका मानिसले सुने मेरो इज्जत जान्छ ।
बरु यसो गरन । आज गएर पल्लो घरबाट चामल पैंचो मागेर ल्याउ न है । मलाई भनेपछि सबै डराउ छन के , सजिलै दिन्छन । पछि यो समाजलाई काम लाग्ने मै हो । आज माग पछि तिरौला नी किन चिन्ता गर्छेउ । तिम्रो बुढो छँदै छ नी ।
हाम्रो पार्टीको सरकार आए पछि सब ठिक हुन्छ । अहिले मिलाउ है । म त आज मिटिङमा जान्छु र खाना उतै खान्छु होला । बा आमालाई मिठो बनाएर दिनु । राम्रो कपडा लगाइदिनु है । सब म मिलाउ छु । बस केही समय धैर्यता गर ।
बस हाम्रो पार्टीबाट हाम्रो दाइलाई मन्त्री त बन्न देउ । बुढी, उपल्लो घरकी साइलीले सुन लगाउँदा तिम्रो मन किन बेचैन हुन्छ ? हँ । म युवा नेता हो बुढी नभुलन । यो ठाउँबाट भविश्यको नेता हुने म नै हो ।
हिराको हारको कुरा नगर तिमी । हामी त समाज बनाउने समाजवादी नेता हो । साहुले पैसा माग्यो भन्दैमा नआत्येउ । म फलानो दाइलाई भनेर थप दुई बर्षपछि तिर्ने बनाइ दिन्छु तिमी चिन्ता नगर । मेरो पहुँच माथि सम्म छ ।
बुढी भोक लाग्यो खाना देउन है । आज ठला नेताहरु आउँदै छन् । पैंशापनि देउन है । दाइहरु संग बसेर चिया खानु छ । सभामा सवाफ देखाउनु छ । अरुलाई जलाउनु छ । दुस्मनहरुलाई गलाउनु छ ।
मलाई त्यो कार्यक्रममा जान ढिला हुन सक्छ । आज बच्चालाई बिद्यालयपनि तिमी आँफै लिएर जाउन है । पिलिज प्यारी । त्यो अस्तिकोे झन्डापनि झिक्देउन है । म अरु भन्दा बढ्दा नजिक हुनु छ । प्यारो हुनु छ । बढ्दा जोड्ले मन्त्रीको नाम उच्चारण गर्दै भट्याउनु छ । पार्टीका नाराहरु घन्काउनु छ । यसम्यान बन्नु छ । अरुलाई उछिनेर म एक नम्बर साबित हुनु छ ।
ऋब म रेडी हुन्छु । तिमी त्यति गरिदेउ न है ।
बुढी – छोरीको स्कुलको फी तिर्ने बेला आयो । मलाई हिजो फोन आएको थियो । त्यो पैंशा कहाँ बाट तिर्ने ? बुढा – ए त्यति जाबो कुरा । म बिद्यालयको प्रिन्सिपललाई फोन गरि मिलाइ हाल्छु । पछि तिर्दा हुन्छ । युवा नेता हो म । मैले भनेको नसुने मन्त्रीज्यूलाई फोन हान्न लगाउँला नी । उफ…बेकार कति चिन्ता गर्छेउ ।
बुढी – छिमेकीको पसलबाट सामान ल्याएको उधारो पैंशा कहिले तिर्ने ? ‘बा’ का लागि भनेर नयाँ कोट र छोरा छोरीका लागि नयाँ कपडा कहिले किन्ने ?
बुढा – हैट तिमीपनि … यति सानो सोच पाल्ने हो । मन्त्रीज्यूलाई भनेर पसलबाट उधारो ल्याइ हाल्छु नी । हाम्रो नेता दाइको ज्वाँइ ठूला व्यापारी छन । दाइले त मलाई बजारमा फल्याट लिएर बस भन्नु हुन्छ । मेरो बारे दाइले कति चिन्ता गर्नु हुन्छ । खाली तिमी कुरा बुझ्दैनौं ।
अब हाम्री छोरीलाई त्यही सहरमा लगेर पढाउनु पर्छ ।
प्यारी, आज त्यत्तो कार्यक्रम छ । दाइ यहाँपनि आउन सक्नु हुन्छ । तिमी त्यो फुटेको चुरा नलगाउन है ।
घरमा सबै मिलाउ है । महिला अधिकारका धेरै कुरा नफलाक । यस्तै किचकिच गरे हाम्रो सम्बन्ध भत्कन सक्छ । महिला अधिकार भन्ने कुरा हामी जस्ता युवा नेताको गोजीको खेलौना जस्तै हो । मेरो पहुँच कति माथिसम्म छ भन्ने तिम्लाई सम्झाइ रहनु पर्छ र ? म नेता र मन्त्रीको प्रिय युवा नेता हुँ । कानुन भन्दापनि माथिको शक्ति हुँ ।