२०८२ कार्तिक २५ गते मङ्गलवार

मौरी पालन व्यवसायको अवस्था, समस्या र सम्भावना

मौरी अन्य किराहरूमध्ये एक फाइदाजनक र धेरै संख्यामा रहने किरा हो । नेपालमा मौरी प्राचीन समय देखिनै पालन गर्ने गरिन्थ्यो।पुरानो समयमा मौरीलाई काठको बाकस, काठको खोपा, काठको मुडा आदिमा राखेर पालन गर्ने गरिन्थ्यो।यही शिलशिलामा आधुनिक तरिकाबाट निकाल्न मिल्ने चौकोस फेर्म घारको आविष्कार भयो।मह मदानीको आविष्कार भएपछि मौरीलाई व्यवसायिक रूपमा फर्म खोलेर पालन गर्न सकिन्छ।

मेलीफेरा र सेराना जातका मौरी पालन गर्दा राम्रोसँग उत्पादन लिन सकिन्छ।मेलीफेरा जातको मौरीलाई तराई र भित्री मधेसमा पालन गर्न सकिन्छ भने सेराना जातको मौरीलाई उच्च पहाडी क्षेत्रमा पालन गर्न सकिन्छ। मौरी किसानहरूका लागि मित्र कीरा हो।मौरीले परागसेचन गरेर उत्पादन वृद्धि गराउने र फूलको रसबाट मह बनाउने काम एकै पटक गरिरहेको हुन्छ।मौरी बिना उचित परागसेचन नहुँदा खाद्यवस्तुको उत्पादनमा ह्रास आउँछ।नेपालमा यो बर्ष ४०औँ विश्व खाद्य दिवस कार्यक्रम भर्खरै मात्र सुसमपन्न भएको छ।विश्वमा खाद्य उत्पादन वृद्धि गर्न र खाद्य सुरक्षाको ग्यारेण्टि गर्न मौरीले पनि अहम भुमिका खेल्ने गर्दछन्।

मौरी पालनबाट र महबाट हुने फाईदाहरु
प्रसिद्ध बैज्ञानिक अल्वर्ट आईन्सटाईनका अनुसार मौरि पृथ्विबाट लोप भएर जाने हो भने मानव समुदायको अस्तित्व पनि करिब करिब ४ बर्षमै समाप्त हुन्छ।तसर्थ मौरि, मानब र प्रकृति बिच अनुपम सम्बन्ध छ। मौरी पालन व्यवसायबाट आर्थिक आयआर्जन हुनुका साथै मौरी जस्तै मेहिनति हुने पाठ सिकाउँछ। मौरीले परागसेचन गरेर उत्पादन वृद्धि गराउने र फूलको रसबाट मह बनाउने हुदाँ मह उत्पादन गर्न सकिन्छ।महमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियम जस्ता तत्व पाइन्छन्, जुन शरीरका लागि ज्यादै लाभदायक हुन्छन्।

महमा ११ वटा महत्वपूर्ण मिनिरल्स पाइन्छन्, जुन हाम्रो शरीरको बनावट र विकासका लागि निकै आवश्यक छ।महको प्रयोग विभिन्न प्रयोजनका लागि गरिन्छ।कुनै पुरानो घाउचोट निर्मूल पार्नका लागि महको प्रयोग गर्ने गरिन्छ।महमा ग्लुकोज पाइन्छ।महमा पाइने भिटामिन र सुगर शरीरभित्र पसेपछि छिट्टै घुल्छन् र अन्य मिष्टान्न परिकारले जस्तो नराम्रो परिणाम देखाउँदैन।खोकी लागेको छ भने अदुवाको रसमा मह मिसाएर खाने गर्नाले निको हुन जान्छ। सुक्खा खोकी लागेको बेला कागतीको रसमा मह मिसाई खाने गर्नाले आराम मिल्छ।कागतीको रस छैन भने महमात्रै खाँदा पनि खोकी लाग्ने क्रम तत्काल घट्न जान्छ।

आलस्य भयो अथवा वाकवाकी आउन लागेजस्तो भयो भने मह खानाले आराम हुन्छ। कब्जियतको समस्या छ भने गोलभेँडा अथवा सुन्तलाको रसमा एक चम्चा मह मिसाएर खाने गर्नाले कब्जियत ठीक हुँदै जान्छ।दुब्लाएर हैरान हुनुहुन्छ र मोटाउन खोजिरहनुभएको छ भने राति दूधमा मह हालेर पिउने गर्नाले मोटाइन्छ। शरीरका मांसपेशी बलियो बनाउन, रक्तचापलाई नर्मल राख्न, रगतमा हेमोग्लोबिनको मात्रा बढाउन पनि मह खाने गरिन्छ।जीउ आलस्य भइरहने, हाई आइरहने गर्छ भने तपाईंलाई रक्तअल्पता भएको हुनसक्छ।मह खानाले यस्तो समस्या हटेर जान्छ ।

शरीरको वजन घटाउन चाहनुहुन्छ भने बिहान मनतातो पानीमा कागतीको रस र मह हालेर नियमित खाने गर्नुपर्छ।बिहान महपानी खानाले दिउँसो कम भोक लाग्छ, जसले गर्दा वजन बढ्न पाउँदैन।हाडजोर्नी दुख्ने, जाडोमा जीउ कटकटी खाने गर्छ भने महमा दालचिनीको पाउडर मिसाएर दुःखेको ठाउँमा मसाज गर्नाले आराम हुन्छ। रुघाखोकी लागेको छ, हाच्छिउँ आइरहेको छ भने मह, अदुवा र तुलसीको पातको रस बराबर मात्रामा मिसाएर खाने गर्नाले आराम हुन्छ ।

राति राम्रोसँग निद्रा लाग्दैन भने सुत्नुअघि दुई चम्चा मह खाने गर्नाले निद्रा लाग्छ। गर्भवतीले मह खाने गर्नाले पेटमा भएको बच्चा शारीरिक र मानसिक रूपमा बढी स्वस्थ हुन्छ ।आगो अथवा तातो वस्तुले छाला जलेको ठाउँमा अथवा काटेको ठाउँमा मह लगाउनाले आराम मिल्छ ।दिनहुँ मह खाने गर्नाले दिमाग तेजिलो बन्दै जान्छ ।महलाई अनारको रससँग मिसाएर खानाले मानसिक समस्या, सुस्तता, निराशा र मानसिक थकान क्रमशः कम हुँदै जान्छन्।

सुन्दरताका लागि पनि मह लाभदायक हुन्छ।आँखावरिपरि डार्क सर्कल छ अथवा आँखा वरिपरिको भाग सुनिएजस्तो देखिएको छ भने मह र बदामको तेल बराबर मात्रामा मिसाई आँखा वरिपरिको छालामा सुत्ने बेलामा दल्ने र बिहान उठेर धुने गर्नुपर्छ। अनुहार, छाती आदिमा चाउरी देखापर्न थालेको छ भने पाकेको आधा एभोकाडोमा एक चम्चा मह मिएर चाउरी परेको ठाउँमा दली २० मिनेटपछि धुने गर्नाले चाउरी हराउँदै जान्छ ।

नियमित दाह्री काट्दा छाला खस्रो भएको अथवा दाग देखापरेको छ भने दाह्री काटेपछि त्यस्तो ठाउँमा मह दलेर १५ मिनेटपछि पखाल्ने गर्नुपर्छ ।सातामा एकपटक नरिवलको तेलमा मह बराबर मात्रामा मिसाई कपालको जरासम्म पुग्ने गरी मसाज गरी २० मिनेटपछि कपाल धुने गर्नाले कपाल चम्किलो बन्छ।

मौरीको व्यवस्थापन :
गर्मी याममा चर्को घामबाट बचाउन छहारीको प्रबन्ध गर्ने, प्रवेशद्वार ठूलो पार्ने, भेन्टीलेशनको व्यवस्था गर्ने, मौरीको लागि घार बाहिर भाँडोमा नुनिलो पानी (५–८ ग्राम १ लि. पानीमा) राखी दिने।जाडो याममा घारको वरिपरिका प्वालहरू थुनी दिने, प्रवेशद्वार उत्तर दिशातिर नराख्ने, बोरा या गोरखा पत्रले घार-छाउरा फ्रेमहरू माथि छोपि दिने, मौरीले नढाकेको फ्रेमहरू झिकी डमी बोर्ड प्रयोग गरी ठाउँ सानो बनाई दिने, खानाको अभाव भएमा चिनी चास्नी दिन, कमजोर गोलाहरूलाई आपसमा संयोजन गरी दिने।

गृष्म र वर्षा याममा मौरीहरू घारको ताप नियन् त्रण तिर बढी लाग्दछन् र साथै यस याममा मौरीका शत्रुहरू जस्तैः अरिंगाल, बच्छयूँ, मैन पुतली, चराले दुःख दिन्छन्।यस याममा मौरी आहारको पनि अभाव र रोगहरू पनि लाग्ने हुँदा मौरीहरू गृहत्याग गर्न सक्ने हुँदा रोग नियन्त्रण गरी कृत्रिम आहारको व्यवस्था गर्नुपर्दछ।

नियमित रूपमा घार निरीक्षण गर्दा मौरीहरू कम चरनमा जाने, संचित गरेको मह खाईदिने, फुल र छाउरामा कमी देखिएमा मौरीले गृह त्याग गर्न सक्छ।अतः तुरून्त प्रवेशद्वारमा रानू ढोका प्रयोग गर्ने, बलियो गोलाबाट टालेका छाउराहरूको फ्रेम राख्ने, रोगी गोलालाई तुरून्तै औषधी उपचार गर्ने।अनुपयुक्त मौसममा निरीक्षण गर्दा घार धेरै वेरसम्म खुल्ला राख्नु हुँदैन ।

गोलाको पहिचान
१. चाकाहरूमा छाउराहरू कम र छारिएका हुन्छन् । छाउराको रंग धमिलो खरो देखिन्छ । रोगग्रस्त चाकाबाटनराम्रोगन्धआउँछ।
२. टालेका छाउराको बिर्को केही तल धसिएको र सानो प्वाल हुन्छ र आसनवोर्ड भित्र मरेका छाउराहरू प्रशस्तदेखिन्छन्।
३. त्यस्तै रोगी मौरीहरू घार बाहिर घस्रेर हिंडछन्, उड्न नसक्नु, घारभित्र जताततै मौरी बिष्टा देखिन्छ ।
मौरी पालन व्यवसायको अवस्था समस्या र सम्भावना:

नेपालमा मौरीबाट वार्षिक एक घार बाट ४० किलोसम्म मह उत्पादन हुन्छ भने सोहि अनुपातमा एक सय घार मौरीबाट मोटामोटी रु १२-१५ लाख आम्दानी हुन्छ।

अर्को कुरा मह ५० वर्षसम्म पनि बिग्रिंदैन । पुरानो महमा औषधीय गुण बढी हुने मानिन्छ।तर मह प्रशोधनमा राम्रोसँग ध्यान पुगेन भने लामो समय राख्दा बिग्रन सक्छ।

अहिलेको अव्यवस्थित चरनबाटै पनि वर्षेनी २० हजार टन मह उत्पादन गर्न सकिने र करिब रु. ५ अर्ब आर्जन गर्न सकिने विज्ञहरू बताउँछन्।ब्रान्डिङ गरेर अन्तराष्ट्रिय बजारमा पुग्दा नेपाली महले वार्षिक खर्बौं आर्जन गर्न सक्छ।चरन विकास गर्दा नेपालले मौरीबाटै वार्षिक १० लाख टन मह उत्पादन गर्न सक्ने विज्ञहरूको भनाइ छ । महको अन्तर्रािष्ट्रय बजार जति पनि छ । शर्त एउटै छ “पेस्टिसाइडमुक्त मह उत्पादन” ।

श्रमको पर्याय मौरीको कुरा गर्दा नेपालीहरूको कामप्रतिको लगाव र मिहिनेतलाई पनि सम्झ्नुपर्छ । अहिले २० लाखभन्दा बढी नेपाली युवा विदेशमा श्रम बेचिरहेका छन् । सरकारले यो पक्षलाई हेरेर पनि मौरी पालन सम्बन्धी व्यवहारिक नीति बनाउनुपर्ने देखिन्छ। तिन तहको सरकार भईसकेपछि संघिय सरकार प्रदेश सरकार र स्थानिय सरकारले मौरी पालन र मह उत्पादन समबन्धि थुप्रै कार्यक्रमहरु र तालिम संचालन गरिरहेको छ।

मौरी पालन र मह उत्पादन कार्यक्रम प्रर्वदन गर्न किसानलाई अनुदान पनि दिदै आईरहेको छ। कृषि ज्ञान केन्द्रहरुले यसको उत्पादन वृद्धि गर्न र युवालाई स्वदेशमा केहि गर्नुपर्छ भनि प्रोतसाहित गर्न युवा लक्षित कार्यक्रम जस्तै च्याउ मह उत्पादन कार्यक्रममा अनुदान दिराखेको छ।

नेपालमा मौरीलाई चरनको लागि एकबाट अर्को ठाउँमा लैजाँदा ठाउँ–ठाउँमा चुङ्गीकर तिर्नुपर्छ । सामुदायिक वनहरूमा मौरी चराउँदा किसानले रोयल्टी तिर्नुपर्छ । नेपालमा सेरेना र मेलफेरा जातका मौरी धेरै पुरानो भइसके।यसको विकल्पमा धेरै मह दिने जातको मौरी विकास हुन सकेको छैन।यो काम कृषकस्तरबाट हुन सक्दैन।

मौरीको एउटा नयाँ रानो किन्दा रु.२ लाख ५० हजारसम्म पर्छ । यस विषयमा निजी तथा सरकारी कहीँ बाटै पनि सोच नबनेको अवस्था छ । एक घार मौरीबाट वर्षमा १२० केजी भन्दा बढी मह उत्पादन गर्न सकिन्छ । यसको लागि एउटा घारमा २० फ्रेम (एक फ्रेममा १५०० देखि २५०० सम्म) मौरी हुनुपर्छ।मौरीको लागि भदौदेखि वैशाखसम्म राम्रै चरनको सुविधा भए पनि जेठ, असार र साउन बेमौसम हुन्छ ।त्यसबेला कृत्रिम खानेकुराको व्यवस्था गर्नुपर्ने हुन्छ । यसबेला मौरीलाई बचाइराख्नु नै ठूलो उपलब्धि हो।

नेपालमा लगानी नडुब्ने क्षेत्र मौरीपालन व्यवसाय हो तर, नीतिगत अस्पष्टताका कारण ठूलो लगानी हुन सकेको छैन।यसमा लागेका किसान पनि नीतिगत अस्पष्टता र अन्य समस्यामा परेका छन् । किसानले स–सानो लगानीमा थोरै–थोरै मह उत्पादन गरे पनि स्तरीय संकलकले ठूलो लगानी गर्नुपर्छ ।

संघिय सरकार प्रदेश सरकार र स्थानिय सरकारले मौरी पालन र मह उत्पादन सम्बन्धि थुप्रै कार्यक्रमहरु र तालिम संचालन गर्नु जरुरि छ। त्यसकारण, आधुनिक प्रविधि सहितको मह संकलनमा व्यक्तिगत वा संस्थागत लगानीबाट नेपाली मह उत्पादक कृषकलाई अन्तराष्ट्रिय बजारसँग जोडेर मुलुकमा समृद्धि भित्रयाउने राष्ट्रिय नीति आवश्यक छ ।

 

प्रकाशित मिति : २०७७ मङ्सिर २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *