
भदौ २४ ।आज महामानव वीपी कोइरालाको १०७ औं जन्म जयन्ती । प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपीका बारेमा आ-आफ्ना बुझाइहरु सार्वजनिक भइरहेका छन् ।वीपीलाई राजनीतिमा मात्रै सिमित गर्न मिल्दैन । उनी बहुआयामिक व्यक्तित्व थिए । वीपीका साहित्य र दर्शनको अलगै पाटो छ । तर वीपीका सच्चा अनुयायी हौं भन्नेहरु देख्दा आफैमा मन अमिलो हुने गर्छ ।
बास्तवमा वीपीलाई एउटै सोलोडोलो पाटोमा राखेर व्याख्या गर्न सकिदैन । त्यो कठिन छ । राजनीतिमा वीपी जन नेता थिए । अहिले भनिने बास्तविक राजनेता ।
जस्को नेपाली साहित्यको पनि फरक बिम्ब छ । बहुआयामिक व्यक्तित्वका धनि कोइरालाले कठिन परिस्थितिमा पनि जसरी साहित्यमा पनि स्थापित भए त्यो आश्चर्य चकित लाग्ने खालको छ । जस्ले आफ्ना कीर्तिहरुमा मानिसको नैतिकता नै मुख्य कुरा हो, भन्ने कुरामा जोड दिएका छन् ।
नैतिकतालाई राजनीतिमा पहिलो अनिवार्य सर्तका रूपमा उनले लिएको देखिन्छ ।
नैतिकताले नै राजनीति, सामाजिक, आर्थिक, सास्कृतिक समस्या हल गर्न सकिन्छ भन्ने कुरामा उनी सदैब दृढ रहे । जस्ले सदैव आफु भन्दा पार्टी र पार्टी भन्दा देशलाई महत्व दिने संस्कारको विकास गर्न खोजे ।
कोइरालाले राष्ट्रियता र प्रजातन्त्र एकै सिक्काका दूई पाटा हुन भन्ने गर्थे । अर्थात एक अर्काका परिपुरक ।
राष्ट्रिय हित चाहनेहरु, सच्चा राष्ट्रबादीहरु एक भएर मात्रै राष्ट्रियता र प्रजातन्त्रको संरक्षण तथा सस्थागत गर्न सकिन्छ भन्ने बलियो विश्वास वीपीमा रहेको पाइन्छ ।
जसले प्रजातान्त्रिक समाजवादको माध्यमबाट नेपाल र नेपालीको हित गर्न सकिन्छ भन्ने कुरामा दृढता पूर्वक लडे ।
महामानव वीपी कोइरालाले आफ्नो आत्मबृतान्तमा भनेका छन् – ‘सफल नेतृत्व त्यसलाई भनिन्छ,जसले गरिब मजदुर असाह्यको र समुन्नत राष्ट्रको विकासका निमित्त काम गर्छ ।’
हुन पनि हो, असल नेतृत्व को कर्तव्य त्यही हो भन्नेमा कसैको दूईमत नहोला ।
एउटै पार्टी भित्रका नेताहरुको पनि नीतिगत र पार्टी गत बिचार फरक नहोला तर व्यक्तिगत बिचार भने अवश्य फरक हुन्छ । मानविय शिद्धान्तमा मानव कतिसम्म आफूलाई सोच परिवर्तन र लक्ष्यमा आफुलाई समर्पित गर्छ ? त्यो पनि उसैको कार्यबाट थाहा हुने कुरा हो ।
साशन र सुशासनको कुरापनि त्यसैमा आउँछ । जब मानिसले आत्म चिंतन गर्छ,त्यहाँ भित्र नबिन्तम विचारहरू आउछ्न । जुन बिचार मानिसको जीवनमा एउटा मार्ग दर्शन बन्ने गर्छ । जुन मार्ग दर्शनले कठिनाइका बिषयगत तत्वहरुदेखि मुक्ति दिलाउँछ ।
यि भनाइहरु आज वर्तमानमा सान्धर्भिक हुँदै गयका छन् ।
वीपीको जीवनबाट हामीले के सिक्ने ?
१- जीवन
वीपीका अनुसार जीवन नै एक सुनिश्चित जोखिम हो । जीवनको सार्थकता कुनै उद्देश्यका लागि प्रतिवद्धतामा निर्भर गर्दछ। मानिस आफ्नो संकल्प र आस्थाले यथार्थमा मानिस हुन्छ। सबैको राजनैतिक जीवन खुलेको पाना जस्तो हुनु पर्दछ ।
२ आर्थिक बिकाश –
वीपी कुनै आर्थिक विशेषज्ञ होइनन् । तर जुन विकासले ग्रामिण जनतालाई पछाडि छोडिदिन्छ त्यो विकाश विकाश नै होइन भन्ने उनको मत थियो ।
त्यो विचारमा शहरको सुविधामात्र हेर्ने, गाउँको वेवास्ता गर्ने विकाश विकाश हुनै सक्दैन भन्नेमा वीपी दृढ थिए । किन भने नेपाल गाउँ नै गाउँले बनेको देश हो । आजको समस्याको जडपनि शहर केन्द्रित विकाश नै हो ।
३- राष्ट्रियता र एकता
वीपीका अनुसार राष्ट्रियताको भावनात्मक विकाश एउटै विचारधाराको प्रचारले हुँदैन । त्यो विकासको क्रम द्वन्द्वात्मक हुन्छ। विचारको संघर्ष राष्ट्रिय हितका सम्बन्धमा मत भिन्नताबाट निस्केको हुन्छ । त्यो सामूहिक निणर्यको फराकिलो शिलाखण्डमा राष्ट्रियताको भावना गहिरिँदै, बाक्लिदै र फराकिलो हुँदै दृढतर हुँदै जान्छ।
राष्ट्रियता माटो होइन, जनताको सामूहिक भावना हो । विचार हो।
हाम्रो नेपाल अत्यन्त पछि परेको देश हो। यसको पछि परेको अवस्थाले गर्दा यसमा यावत कमजोरीहरू र दुर्गुणहरू देखा परेका हुन ।
राष्ट्रियता र प्रजातन्त्र अविभाज्य छन् । राष्ट्रिय एकता प्रजातन्त्रको जगमा मात्र खडा हुन सक्छ र प्रजातन्त्रको जग देशको उत्तरोत्तर आर्थिक विकास र न्यायपूणर् आर्थिक व्यवस्थामा मात्र बलियो हुनसक्छ। तसर्थ हाम्रो दृष्टिकोणमा—राष्ट्रियता, प्रजातन्त्र, विकाश र उन्नति एक अर्कामा आधारित तत्व हुन ।
यदी हामीले केवल राष्ट्रियताको चर्चा गर्छैँ र प्रजातन्त्रका सम्बन्धमा मौन रहन्छौँ भने अधिनायकवादका पक्षधर हुने छौं र यदि प्रजातन्त्रको चर्चा गरेर राष्ट्र रक्षाको कुरोलाई उपेक्षा गर्र्छौं भने हामी विदेशी तत्वको हतियार बन्न सक्छौं। राष्ट्रिय सहमति प्रजातन्त्रबाट मात्रै स्थापित हुन सक्छ। दूई जना मिलेर राष्ट्रिय सहमति हुन सक्दैन ।
४- हाम्रो कर्तव्य
वीपीका अनुसार हामीले आफ्ना विरोधीहरूलाई सैधान्तिक आधारमा जित्ने प्रयत्न गर्नु पर्छ । उनीहरूको विश्वास प्राप्त गर्ने प्रयत्न गर्नु पर्छ। हाम्रो विरोधमा लागेका अधिकांश व्यक्तिहरू नबुझेर त्यसो हुन पुगेका हुन । तिनिहरूलाई आफ्नो पक्षमा ल्याउने प्रयत्न गर्नु पर्छ।
हामीले हाम्रो आफ्नो सिध्दान्तलाई त्यागेर कसैसँग कुनै पनि हालतमा सम्झौता गर्नु हुँदैन। तर हाम्रो विरोध कटुताहिन र सैधान्तिक हुनु पर्छ । ब्यक्तिगत हुनुहुँदैन।
५- जनशक्ति
वीपीले भनेका थिए, ‘हाम्रो देश भनेको भूगोल मात्रै होइन, त्यो माटो मात्रै पनि होइन, त्यो यथार्थमा जनता हो।’
जुन कुराले जनताको हित हुन्छ त्यही कुरो देश हितको कुरो हो। जनताको अधिकार हनन् गर्नु भनेको देशको अधिकार हन्न हो।
राजनीतिक अधिकारबाट बञ्चित भएको नागरिक राष्ट्रको नागरिक हुँदैन। त्यो शोषित दलित रैति हुन्छ।
नागरिक र रैतिमा धेरै फरक छ । यद्यपी दुबै एउटै देशका बासिन्दा हुन । नागरिक देशका समस्यालाई बुझ्ने, बुझ्न खोज्ने, चनाखो, आफ्नो अधिकार र जिम्मेवारीलाई बुझेको व्यक्ति हो।
रैति निमुखो हुन्छ। त्यो अर्काको खटनमा हिँड्छ। उसलाई देशका प्रति न चाख हुन्छ, न अधिकारका प्रति जागरूकता । त्यो कुनै जिम्मेवारी लिँदैन । किनभने आज्ञा पालन गर्ने स्वभाव उसमा निर्मित भएको हुन्छ। नागरिकबाट राष्ट्र बन्छ, रैतिबाट बन्न सक्दैन ।
६- जनताको अधिकार तथा कर्तब्य
जनताको अधिकारको अपहरणले राजनीतिमा दमनको रूप लिन्छ र त्यसले आर्थिक क्षेत्रमा शोषणको रूप लिन्छ। अर्थात आर्थिक क्षेत्रमा भइरहेको शोषणको अन्त्य गर्न राजनैतिक अधिकार नभएको ठाउँमा सकिदैन ।
किनभने कसैसंगपनि शोषणका विरूद्ध आवाज उठाउन राजनीतिक अधिकार हुनुपर्छ । जबसम्म अन्यायका विरूद्ध लड्ने अधिकार कुण्ठित रहन्छ,तबसम्म दमन कायम रहिरहन्छ। जन अधिकारको अपहरणले राजनीतिमा दमन, अर्थतन्त्रमा शोषणको रूप लिन्छ । हामी दुबै कुराको विरूद्धमा हुनुपर्छ ।
७ – साहित्य र कला र संस्कृति
कुनैपनि कला मर्यादित हुँदैन। आफ्नो मर्यादा यसले आफैँ सृजना गर्छ। साहित्य सभ्यताको प्रतिक हो।
संगीत र भावको सममिश्रणबाट जन्मेको उच्चतम दर्शन नै साहित्य हो।
सहित्य जीवन जस्तै व्यापक छ। यथार्थमा समग्र जीवनको प्रतिविम्व नै साहित्य हो। कला, साहित्य मानिसको अन्तरप्रेरणा प्रवृत्तिको अभिव्यक्ति हो। कला सुरक्षा चाहँदैन, स्वतन्त्रता चाहन्छ। उसलाई हिँडिसकेको बाटोमा खुट्टा चाल्न मन लाग्दैन। आफूले हिँड्ने बाटो आफै बनाउन चाहन्छ । साहित्य, कला , संस्कृति हामिलाई सफलतातर्फ उन्मुख गराउने माध्यम हुन।
त्यसैले हामीले वीपीका हरेक कुरालाई अहिलेको युगले मनन् गर्नु पर्छ ।
त्यो पनि बैज्ञानिक युगमा समयसापेक्ष अनुनयन गर्दै, विशेष गरि बिपन्न, गरिब, आर्थिक अभाव, अशिक्षित जनताको सेवा गर्दै तिनीहरुको अबस्था अपग्रेड गर्नु नै आफ्नो जीवन जिउनुको सार्थक हो भन्ने कुरालाई आत्मसात गर्नुपर्दछ ।वीपी जयन्तीको अवसरमा प्रजातान्त्रिक आन्दोलनका अग्रणी ब्यक्तित्व महामानव बिश्वेश्वर प्रसाद कोईराला प्रति हार्दिक श्रद्धासुमन ।
लखेक – नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य दाङ ।
