दाङ, असार ९ । कपिलबस्तुमा ट्रयाक्टर चिप्लिएर पोखरीमा खस्दा डुबेर दुई महिलाको मृत्यु भएको छ ।
मृतक दुबै जना कपिलवस्तु नगरपालिका –८ का हुन । दुर्घटनामा परि स्थानीय २२ र ४५ बर्षीया कोरी समुदायका महिलाको मृत्यु भएपनि यो खबर तयार पार्दासम्म उनीहरुको सनाखत भइ नसकेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मोहनमणि अधिकारीले बताए ।
प्रहरीका अनुसार उनीहरु धानको बिउ बोकेको ट्याक्टरमा सवार थिए । उनीहरु खेतमा धान रोप्न जाँदै थिए ।
हालसालै माटो थपेर निर्माण गरिएको बाटो रातभरको बर्षाले भिजेर पुरै गलेको थियो । त्यही बाटोमा गुडिरहेको ट्याक्टर चिप्लिएर पोखरीमा खसेपछि दुई महिलाको डुबेर मृत्यु हुन पुगेको प्रहरीले जानकारी दिएको छ ।
अचेत अवस्थाका उनीहरुलाई उद्धार गरि कपिलबस्तु जिल्ला अस्पतालमा पुर्याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए । ट्रयाक्टर पोखरी भित्रै डुबेको हुँदा नम्बर खुल्न सकेको छैन ।
ट्रयाक्टरमा चालकसहित कुल ६ जना सवार थिए । अरुको अवस्था सामान्ने छ । चालक फरार छन् । उनको खोजी भइ रहेको प्रहरीले जनाएको छ ।