देउखुरी , चैत १४ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले ‘नमुना राजधानी शहर गुरुयोजना कार्यान्वयन’मा अवरोध पुर्याउने अवैध घडेरी प्लटिङ रोक्न कदम चाल्ने बताएका छन् ।
घण्टदेव युवा क्लब राप्ती गाउँपालिकामा आवद्ध युवाले बिहीबार मुख्यमन्त्री आचार्यलाई भेटेर ज्ञापन पत्र बुझाएका थिए ।
इुवाले राजधानी क्षेत्रका विभिन्न स्थानमा भूमाफियाले गैरकानुनी रूपमा कित्ताकाट तथा किनबेच गरिरहेको गुनासोसहितको ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापनपत्रमा राजधानी गुरुयोजना विपरित भइरहेका अवैध गतिविधि तत्काल रोक्न र कारबाहीको माग गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री आचार्यले तत्काल अनुसन्धान गर्न तथा अवैध प्लटिङ रोक्न मातहतका निकायलाई निर्देशन दिएको बताए ।
उनले सरकार नदी सभ्यतामा आधारित आधुनिक राजधानी निर्माणमा प्रतिबद्ध रहेको उल्लेख गर्दै गुरुयोजना विपरितका कुनै पनि गतिविधि स्वीकार्य नहुने बताएका थिए ।
सरोकारवाला निकायसँग समन्वय गरी अवैध घडेरी प्लटिङ रोक्न सरकार सक्रिय रूपमा लागिपर्ने उनले प्रतिबद्धता व्यक्त गरेका थिए ।

