दाङ,माघ २२ । आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज (मङ्गलबार)देखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ ।
विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको हो ।
नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एपिभी खोप अभियान सञ्चालन गर्न लागिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ ।
यस अभियानमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ ।
विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले देशभरि तोकिएको उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)खोप दिन लागिएको बताउँदै सबैजना आआफ्नोतर्फबाट अभियानमा जोडिन आग्रह गरे ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले खोप अभियानमा १८ हजार नौ सय विद्यालयका खोप केन्द्र र आठ हजार दुई सय अन्य खोप केन्द्र रहने र २७ हजार ८० स्वास्थ्यकर्मी परिचालन हुने जानकारी गराए ।
त्यसैगरी ५४ हजार एक सय ६० स्वयंसेवक खटाइनेछन् भने १५ हजार छ सय ७४ जना सुपरिवेक्षकहरू संलग्न हुनेछन् ।