घोराही, माघ १० । दाङमा ३९ हजार बढी बालिका तथा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप लगाउने गरि तयारी तीब्र पारिएको छ ।
त्यस्तो खोप माघ २२ देखि फागुनको ६ गतेसम्म लगाइने छ । कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका बालिका र किशोरीलाई ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाउने गरि तयारी तीब्र पारिएको सरोकारवालाहरुले बताएका छन् ।
खोप लगाउन हाल जिल्लाका दश पालिकास्तरमा जनशक्ति तयार गर्न स्वाथ्यकर्मीलाई तालिम दिदै आइएको छ । त्यो तयारीका साथ हाल पालिकाहरुमा तालिम तथा अन्तरक्रियाको कार्यक्रमहरु तीब्र पारिएका छन् ।
किशोरी तथा बालिकालाई लगाउनका लागि पाठेघरको मुखको क्यान्सरविरूद्धको ४१ हजार बढी खोप जिल्लामा यसअघि नै उपलब्ध भइ सकेको छ ।
दाङका दश स्थानीय तहका ३९ हजार चार सय ५० जना बालिका तथा किशोरीलाई त्यस्तो खोप लगाउने लक्ष्य राखिएको छ ।
दाङका विद्यालयमा अध्ययनरत ३७ हजार दुई सय पाँच जना र विद्यालय बाहिर रहेका दुई हजार दुई सय ४५ जना गरेर ३९ हजार चार सय ५० जना बालिका तथा किशोरीलाई त्यो खोप लगाउने उदेश्य राखिएको स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचायले जानकारी दिए ।
हाल तालिम चलिरहेको हुँदा अब विस्तारै खोप जिल्लाका सबै पालिकाहरूमा खोप पठाउने तयारी हुन थालेको आचार्यले बताए ।
जिल्लाका तीन सय ९१ वटा विद्यालयमा अध्ययनरत बालिकालाई खोप लगाउनका लागि जिल्लामा चार सय ४७ वटा केन्द्र तोकिएका छन् । ती मध्य चार सय ३५ वटा विद्यालय र १२ वटा विद्यालय बाहिर खोप केन्द्र राखिने छन् ।
दश पालिका मध्य तुलसीपुर उपमहानगरपालिकामा विद्यालयमा अध्ययनरत दश हजार पाँच सय ९९ जना र विद्यालय बाहिर आठ सय ४३ गरि कुल ११ हजार चार सय ४२ बालबालिका छन् ।
त्यस्तै शान्तिनगर गाउँपलिकामा विद्यालयमा अध्ययनरत एक हजार चार सय ४४ जना र विद्यालय बाहिरका ६६ जना गरि एक हजार पाँच सय १० जना, बबई गाउँपालिकामा विद्यालयमा अध्ययनरत एक हजार सात सय ८१ जना र विद्यालय बाहिरका ५४ जना गरेर एक हजार आठ सय ३५ जना, दंगीशरण गाउँपालिकामा विद्यालयमा अध्ययनरत नौ सय ५१ जना र विद्यालय बाहिर रहेका एक सय ४० जना गरि एक हजार ९१ जना बालिका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार घोराही उपमहानगरपालिकामा सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत ११ हजार नौ सय ५२ जना र विद्यालय बाहिर रहेका सात सय २६ जना गरि कुल १२ हजार छ सय ७८ जना बालिका छन् ।
त्यस्तै बंगलाचुली गाउँपलिकामा विद्यालयमा अध्ययनरत एक हजार दुई सय ८१ र विद्यालय बाहिर रहेका २१ जना गरेर एक हजार तीन सय दुई जना किशोरीलाई खोप लगाइने छ ।
देउखुरीमा लमही नगरपालिकामा विद्यालयमा अध्ययनरत तीन हजार दुई सय १४ जना र विद्यालय बाहिर रहेका एक सय १८ जना गरि तीन हजार तीन सय ३२ जनालाई खोप लगाउने योजना छ ।
देउखुरीको राप्ती गाउँपालिकामा विद्यालयमा अध्ययनरत दुई हजार सात सय १६ जना र विद्यालय बाहिर रहेका ९६ जना गरि दुई हजार आठ सय १२ जना, गढवा गाउँपालिकामा विद्यालयमा अध्ययनरत दुई हजार ३२ जना र विद्यालय बाहिर रहेका ५४ जना गरि दुई हजार ८६ जना र राजपुर गाउँपलिकामा विद्यालयमा अध्ययनरत एक हजार दुई सय ३५ जना र विद्यालय बाहिर रहेका एक सय २७ जना गरि एक हजार तीन सय ६२ जनालाई खोप लगाउने कार्यक्रम उदेश्य राखिएको छ ।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशका १२ जिल्लामा दुई लाख ९८ हजार नौ सय १० जनालाई खोप लगाउने लक्ष्य राखिएको छ ।
कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा जन्माउने, छोटो अन्तरालमा लगातार बच्चा जन्माउने, धेरै जनासँग यौन सम्बन्ध राख्ने , धेरै धुम्रपान तथा मद्यपान गर्ने र यौनाङ्गको सरसफाइमा ध्यान नदिने जस्ता कारणले पाठेघरको मुखको क्यान्सरको जोखिम बढ्ने चिकित्सकहरु बताउने गर्छन ।
नेपालमा पाठेघरको मुखको क्यान्सरका बारेमा सचेतनाको कमीले गर्दा महिला क्यान्सरको अन्तिम अवस्थामा मात्र अस्पताल पुग्ने गरेको हुँदा त्यो स्थिति आउन नदिनका लागि पहिलै खोप लगाउन काम राज्यले सुरु गर्न थालेको हो ।