दाङ, असोज २३ । प्युठानमा नाति बोकेकी हजुर आमा नाता पर्नेलाई मोटरसाइकलले ठक्कर दिदा तीन महिने शिशुको मृत्यु भएको छ ।
मल्लरानी गाउँपालिका–५ की ४५ बर्षीया नारायणी कुँवरलाई मोटरसाइकलले ठक्कर दिदा उनको हातवाट तीन महिनाका नाति श्रीजल भण्डारी भूइमा खस्न पुगेका थिए ।
हजुरआमाको हातबाट खसेका शिशु श्रीजललाई जिल्ला अस्पताल खलंगामा उपचारका लागि लगिएको थियो । त्यही उनको मृत्यु भएको प्यूठानका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक केशब केसीले फरककोणलाई बताए ।
प्रहरी निरीक्षक केसीका अनुसार बिहीबार बुलुकी ऐरावती गाउँपालिका –४ कैरनबाट चेरनेटातर्फ जाँदै गरेको प्रदेश ०३–००७ प ३३०७ नम्बरको मोटरसाइकलले नाति हातमा उठाएकी हजुर आमालाई ठक्कर दिएको थियो ।
त्यो ठक्कर पछि हजुर आमा नातिसहित भूइमा लडेकी थिइन ।
दुर्घटनाकी घाइते नारायणी कँवरको अवस्था सामान्ने रहेको र उनी बिहीबार बेलुकी नै उपचार पछि डिष्चार्ज भइ सकेको प्रहरी निरीक्षक केसीले बताए ।
आफन्तको घरवाट बालकी आमा, हजुर आमा घर फर्किदै गर्दा दुर्घटना भएको हो । ‘उहाँहरु गाडीबाट ओर्लिनासाथ मोटरसाइकलले ठक्कर दिएको रहेछ,’ प्रहरी निरीक्षक केसीले भने ‘आमाले बाटो पार गरि सकेको र हजुर आमा नाति हातमा समाएर हिडिरहेको समयमा मोटरसाइकलले ठक्कर दिएको भन्ने छ ।’
मोटरसाइकल चालक प्युठान नगरपालिका–१ चेरनेटा बस्ने २३ वर्षीय विशाल केसी प्रहरी नियन्त्रणमा छन् ।
घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।