दाङ, कात्तिक २० । रोल्पामा श्रीमानले हाँकेको मोटरसाइकल सडक किनारमा पल्टिदा श्रीमति भिरबाट ५० मिटर मुनी खसेपछि घटनास्थलमै मृत्यु भएको छ ।
भिरबाट ५० मिटर मुनी पुगेकी सुनछहरी गाउँपालिका – १ झम्की गाउँकी २८ बर्षीया खुनो बिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाको सञ्चार शाखाले जानकारी दिएको छ ।
मंगलबार बेलुकी साढे ४ बजेतिर बिकका श्रीमान ३२ बर्षीय मोहन बिकले चलाएको रा ६ प ४०५३ नम्बरको मोटरसाइकल सुनछहरी – ५ थवाङको पेवाङदेखि उवा जाने भित्री सडक खण्डमा सडक किनारमा पल्टिएको थियो ।
जतिखेर मोहनकी श्रीमति खुनो बिक भने भिरवाट झन्डै ५० मिटर तल लड्दा घटनास्थलमै मृत्यु भएको रोल्पाका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले बताए ।
घटनाबारे अनुसन्धान भइ रहेको प्रहरी निरीक्षक शाहीले फरककोणलाई जानकारी दिए ।
प्रकाशित मिति : २०८१ कार्तिक २० गते मङ्गलवार