तुलसीपुर, असोज १९ । दाङबाट यो बर्ष दशैंमा काठमाडौंका लागि झन्डै एक करोड मूल्य बराबरका खसी बोका पठाइने भएको छ ।
काठमाडौंका लागि यो बर्ष दाङबाट यो दशैंमा चार सय खसी बोका माग गरिएको छ । यो संख्या अघिल्ला बर्षहरुको भन्दा कम हो ।
दाङको देउखुरी क्षेत्रमा खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड मुख्य शाखा दाङ तुलसीपुरका अनुसार शुक्रबार मात्रै तुलसीपुर क्षेत्रवाट एक सय ९३ वटा खसी बोका काठमाडौं पठाइएको थियो ।
शनिबार देउखुरी क्षेत्रका किसानवाट खरिद गरि थप दुई सय जति खसी बोका खाद्यले काठमाडौं पठाउन थालेको तुलसीपुरका प्रमुख तिलक सुनारले फरककोणलाई बताए । खाद्यले यो बर्ष दशैंका लागि २० देखि ४० केजी तौलको खसी र १८ देखि ३० केजीसम्मको बोका मात्रै खरिद गर्न थालेको छ ।
जिउँदो खसी केजीको पाँच सय ६० र बोका पाँच सय ४० केजीको दरमा खाद्यले खरिद गरेको छ ।
यो बर्ष माग बमोजिम दाङबाट चार सय खसी बोका माग पठाउन थालिएको छ ।
गत बर्ष दाङबाट खाद्यले दशैंका लागि सात सय ५६ वटा खसी बोका र त्यो भन्दा अघिल्लो बर्ष एक हजार बढी खसी बोका दाङबाट काठमाडौं पठाएको थियो ।
यही असोज १० देखि १२ गतेसम्मको अति भारी बर्षाका कारण काठमाडौं उपत्यका लगाएतका क्षेत्रमा बाढी, डुवान र पहिरोले ठूलो जनधनको क्षति भएका कारण कम मात्रामा खसी बोका काठमाडौंले माग गरेको हो ।
हालसालैको बाढी पहिरोको क्षतिका कारण अघिल्ला बर्षहरु जस्तै खसी बोका बिक्री कम हुने आँकलन गरिएको छ ।
ब्यक्ति बिषेशले पनि दशैं तिहार जस्ता चाड पर्वहरुमा किसानवाट खरिद गरि सयौं खसी बोका काठमाडौं पठाउने गर्छन । दाङका पहाडी जिल्लाहरुबाट पनि ठूलो मात्रामा खसी बोको काठमाडौं पठाउने गरिन्छ ।