नवलपरासी ,असोज १५ । पूर्व-पश्चिम लाेकमार्गअन्तर्रगत पश्चिम नवलपरासीको दाउन्नेमा भासिएकाे सडक मर्मत गरेर खुलाउने प्रयास जारी छ ।
बर्दघाट- ४ दाउन्ने जंगलस्थित खुर्सानीखोलामा सडक भासिएपछि अवरुद्ध भएको राजमार्ग खुलाउन गएरातिदेखि काम सुरु भएको छ ।
नारायणगढ-बुटवल सडक विस्तारको जिम्मा पाएको ठेकेदार कम्पनी चाइना स्टेट कन्ट्रक्सनसंग समन्वय गरी गएरातिबाटै काम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरिक्षक ज्ञानेन्द्र प्रसाद फुयाँलले जानकारी दिए ।
आज बिहान १०/११ बजेसम्ममा उक्त सडक एकतर्फी भएपनि खुलाउने प्रयास भइरहेको जनाइएको छ । वर्षायामका कारण बन्द सडक मौसममा केही सुधार भएपछि खुलेको भएपनि सडक भासिएपछि दाउन्नेदेखि पश्चिम र पूर्वि क्षेत्रमा सवारी साधनको ८ किलोमिटरसम्म लामो लाइन छ ।
सडकको माथिल्लो भागमा पर्खाल भत्किएर विद्युतको हाइटेन्सन लाइन सडकतर्फ ढलेको छ भने सडक धेरै नै भासिएको छ ।
विद्युत पोल व्यवस्थापनका लागी विद्युत प्राधिकरणको पनि टोली खटिसकेकाले छिट्टै सडक सुचारु हुने प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताइन् ।
सवारी साधनलाई पूर्वमा दुम्कीबास र पश्चिममा बर्दघाटमा रोकिएको छ ।