सुर्खेत, भदौ २० । नेकपा (एमाले)का महासचिव शंकर पोख्रेलले सत्ताबाहिर पुगेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा डो¥याउने अलोकतान्त्रिक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।
प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले बिहीबार सुर्खेत विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले माओवादी अध्यक्ष प्रचण्डको अतिवादी दृष्टिकोणबाट अनेक खाले अस्थिरता मच्याउने काम भइरहेको बताएका हुन ।
उनले भने, ‘प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डको असंसदीय राजनीतिका कारण संसदभित्र किचलो भएको छ । प्रतिपक्ष दलको नेताले श्रीलंका र बंगलादेशको उदाहरण दिन हुन्थेन । त्यो लोकतान्त्रिक हुन सक्दैन ।’
आफूहरूको आशय दुई दलिय व्यवस्था नभइ फरक विचारका दुइ दल भए पुग्छ भन्ने रहेको भन्दै उनले राजनीतिक स्थायित्व र विकासका लागि नेपालमा दुइ दल मात्र भए पुग्ने प्रतिक्रिया दिए । तर कांग्रेस – एमालेले दुई दलिय व्यवस्थाको वकालत नगरेको स्पष्ट पार्न खोजेका थिए ।
‘मैले दुई दलीय प्रणालीको कुरा गरेको छैन मुलुकको स्थायित्व र विकासका लागि दुई दल भए पुग्छ भनेको हो । अमेरिकामा सयौं वर्षदेखि दुई दलबीच प्रतिस्पर्धा भइरहेको छ । संसदको जननी बेलायतमा अरु दल खोल्न नपाइने हो र ? तर दुई दलबीच नै प्रतिस्पर्धा चलिरहेकै छ,’ पोखरेलले भनेका थिए , ‘नेपालमा जनमत विभाजित भयो भन्ने प्रश्नसहित धेरै दल होइन बलिया दुइ दल भए पुग्छ भनेको हो । मुख्य त दुइ विचार पुँजीवादको सुधार कि समाजवाद भन्ने नै हो ।’
फरक प्रसंगमा महासचिव पोखरेलले सरकारप्रति कांग्रेस महामन्त्रीद्वय असन्तुष्ट रहेको भन्ने कुरा बनावटी रहेको भन्दै बचाउ गरे ।
‘उहाँहरूले बाहिर आएर भनेको सुनेका छौं र ? कथा बनाइयो । कांग्रेसको औपचारिक निर्णय यो समिकरण कांग्रेसको मेहनतको परिणाम भन्ने छ । महामन्त्रीको सहमतिविपरीत पार्टीको त्यो निर्णय भएको होला ? पत्रकारको प्रश्नमा पोखरेलले प्रतिप्रश्न गरे ’
एमाले–कांग्रेसको सरकार बनेपछि राजश्व वृद्ध हुन थालेको भन्दै उनले नेपालको मौलिक संस्कृतिमाथि अतिक्रमण गर्ने काम भइरहेको हुँदा सजग रहन आग्रह गरेका थिए ।
काठमाडौँका मेयर बालेन साह र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भएको टकरावलाई लिएर पोखरेलले बालेनले प्रधानमन्त्रीसँग उक्त विषय जोड्न आवश्यक नभएको तर्क गरेका थिए । बालेनले लगाएको आरोपबारे सम्बन्धित निकायले पुष्टि गर्ने भएकाले खासै बोल्न आवश्यक नरहेको बताए ।
लोकतन्त्रलाई सुदृढ गर्न आवश्यक भएको बताउँदै महासचिव पोखरेलले त्यसका लागि बलियो शक्ति आवश्यक भएकाले २०८४ मा एमाले मुलुककै बलियो शक्तिका रूपमा स्थापित हुने दाबी गरेका थिए ।