
दिप्तीशिखा चौधरी
दंगीशरण, १५ जेठ ।
दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले वडा कार्यालयबाट जनताले अब दैनिक रुपमा लिने सेवा छिटो र सहज रुपमा लिन सकिने बताएका छन् । अध्यक्ष चौधरीले सबै वडा कार्यालयले अबका दिनमा आफ्नै कार्यालयबाट सेवा दिने भन्दै सेवाग्राहीलाई कुनै पनि कठिनाई नहुने बताए । दंगीशरण गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालयको भवन शिलान्यास कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
अध्यक्ष चौधरीले भने ‘लामो समयदेखि घर भाँडामा लिएर साँघुरो स्थानबाट वडाले जेनतेन सेवा दिईरहेको थियो अब वडा कार्यालयको निर्माणपछि तपाईहरु फराकिलो स्थानबाट सेवा पाउनु हुनेछ । यसका लागि धेरै लामो समय कुर्नुपर्ने छैन ।’ अध्यक्ष चौधरीले वडा कार्यालयका लागि जग्गा दान गर्ने जग्गादातालाई धन्यवाद ब्यक्त गर्दै सबैको साथ सहयोगले समृद्ध दंगीशरण बन्ने विश्वास ब्यक्त गरे ।
यस्तै वडा अध्यक्ष दिपक गौतमले वडा भवनका लागि जग्गाको आवश्यकता परेका बेला सहयोग गर्ने दाताहरु भेटिएको भन्दै खुसी ब्यक्त गरे । वडा अध्यक्ष गौतमले भने ‘मलाई तथा यस वडालाई सहयोग गरेका ब्यक्ति धन्यवादका पात्र हुनुहुन्छ उहाँको यो योगदानले धेरै नै सहयोग प्राप्त भएको छ । अब जनताको सेवा आफ्नै भवनबाट दिन पाउँदा म धेरै नै खुसी छु ।’

आज बुधबार एक कार्यक्रमको बीच गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी र वडा अध्यक्ष दिपक गौतमले विधिवत रुपमा पूजापाठ गरी शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, वडा नम्बर ७ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता विर बहादुर वली, वडा सदस्य खिम बहादुर केसी, निमा चौधरी, लिलावती दमेनी लगायतको सहभागिता रहेको थियो ।
वडा कार्यालय स्थापनाका लागि बुद्धिराज उपाध्यायले तीन कठ्ठा र गोपाल खत्रीले दुई कठ्ठा गरी पाँच कठ्ठा जग्गा दान गरेका हुन् । सहयोग नै धर्म हो भन्ने उद्देश्यले जग्गा दान गरेको जग्गादाता बुद्धिराज उपाध्यायले बताए । भवन गाउँपालिकाको १५ लाख बजेटमा ४ कोठाको बन्ने भएको छ । रमिता चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको भवन शिलान्यास कार्यक्रमको सहजीकरण भरत वलीले गरेका थिए ।
