
शरद रेग्मी
तुलसीपुर, १४ जेठ ।
पतञ्जली योग समितिका केन्द्रीय प्रभारी लवदेव मिश्रले जीवनको अन्तिम सत्ययोगा भएको बताउँदै सबैका लागि योग अपरीहार्य रहेको बताउका छन् । रिपोर्टर्स क्लव नेपाल दाङले मंगलबार तुलसीपुरमा आयोजना गरेको स्वागत तथा साक्षात्कार कार्यक्रममा केन्द्रीय प्रभारी मिश्रले योगामा सबै जातजाति, लिङ्ग, धर्म र संस्कृति अटाउने बताए ।
‘योगामा केही प्राणायाम विधिले हिन्दूत्वको प्रतिनिधित्व गरेको प्रतित भए पनि खासमा योगा सबै धर्मावलम्वीहरुको साझा अभ्यास हो’ प्रमुख प्रभारी मिश्रले भने । योगाका प्रमुख रिसर्चर डा सर्लेश टेलेस स्वयम इसाई धर्मावलम्वी भएको बताउँदै पतञ्जली योग समिति प्रदेश नम्बर ३ का सदस्य पनि मुस्लिम समुदायका रहेको योग गुरु मिश्रले स्पष्ट पारे ।
साक्षात्कार कार्यक्रममा बोल्दै मिश्रले योगाको मुख्य उत्पादन भनेको तनावमुक्त जीवन भएको बताउँदै योगा भनेको असत्यलाई सत्यतर्फ लैजाने माध्यम भएको बताए । ‘योगाले एउटा यस्तो आदर्श व्यक्ति जन्माउँछ, जसले असत्यलाई सत्यतर्फ लैजान्छ, अनि अध्याँरोलाई उज्यालोतर्फ लैजान्छ’ साक्षात्कार कार्यक्रममा प्रमुख प्रभारी मिश्रले भने ।

‘हरेक वडामा योग केन्द्र बन्नुपर्दछ, अनि ती केन्द्रमा हरेक दिन योगाभ्यास पनि हुनु आवश्यक छ, त्यसपछि दाङलाई योग जिल्ला घोषणा गरिने छ’ प्रमुख प्रभारी मिश्रले भने ।
साथै पतञ्जलीलाई धर्मान्धता स्वीकार्य नहुने बताउँदै ॐ शबदको उच्चारण गर्न नमान्ने व्यक्तिलाई धार्मिक मूर्खको संज्ञा दिए । ‘ॐ शब्द व्यापक अनुसन्धानपछि आएको शव्द हो, कुनै धार्मिक ग्रन्धमा उल्लेख भएको निजी शव्द होइन’, मिश्रले भने । त्यसै अवसरमा बोल्दै मिश्रले नाङ्गो आँखाले देख्ने वस्तु मात्र सत्य नभएको बताउँदै योगकै कारण माइक्रोस्कोपको आविस्कार भएको बताए ।
एकअर्को प्रसङ्गमा अव स्थानीय सरकारदेखि संसद भवन र मन्त्री मण्डल पनि योगमय बन्नुपर्ने उद्घोष गरे । त्यसमा राज्यले पनि लगानी गर्नुपर्ने अभिव्यक्ति दिए । साथै चाँडै पतञ्जली समितिले दाङलाई योग जिल्ला घोषणा गर्ने भन्दै त्यसमा न्यूनतम मापदण्ड पूरा गर्न पनि स्थानीय सरकारलाई आग्रह गरे ।
‘हरेक वडामा योग केन्द्र बन्नुपर्दछ, अनि ती केन्द्रमा हरेक दिन योगाभ्यास पनि हुनु आवश्यक छ, त्यसपछि दाङलाई योग जिल्ला घोषणा गरिने छ’ प्रमुख प्रभारी मिश्रले भने । कार्यक्रममा ५ नम्वर प्रदेश पतञ्जली योग समिति प्रमुख प्रेम शाहले योगालाई दैनिकी बनाउन सुझाव दिदै चाँडै जिल्लालाई योग जिल्ला घोषणा गरिने बताए ।
योग प्रशिक्षक तथा तुलसीपुर उपमहानगरपालिका–७ का वडा अध्यक्ष टोपबहादुर केसीले तुलसीपुर उपमहानगरपालिकाले अब हरेक टोल विकास संस्थामा २÷२ जनाका दरले योग प्रशिक्षक बनाउन उपमहानगरपालिका लाग्ने उद्घोष गरे । क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा कार्यक्रम भएको थियो । उक्त अवसरमा संघ, प्रदेश, जिल्ला र स्थानीय तहका योग प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।
