स्वर्गद्वारी (प्युठान),भदौ २४ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेश सरकार मिडियासंग सहकार्य र हातेमालो गरेर अघि बढ्न प्रतिबद्ध रहेको बताएका छन ।
नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश भेलाको शनिबार प्युठानको स्वर्गद्वारीमा उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले पत्रकारहरुको क्षमता विकास र मिडिया प्रबर्द्धनका लागि प्रदेश सरकारले पर्याप्त बजेट छुट्ट्याएको बताएका हुन ।
सोसल मिडियाले मूलधारका मिडिया र पत्रकारलाई चुनौती थपिएको भन्दै उनले जिम्मेवार र मर्यादित पत्रकारितामा जोड दिए।
मिडियाले स्थानीय उत्पादन प्रबर्द्धनमा भूमिका खेल्नुपर्ने बताउँदै मुख्यमन्त्री चौधरीले प्रदेश सरकारले लोकल उत्पादनहरुको ब्राण्डिङ गरिरहेको उल्लेख गरे ।
नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले व्यवसायिक र मर्यादित पत्रकारिता गर्नुपर्नेमा जोड दिंदै प्रेस युनियनसम्बद्ध पत्रकारहरुलाई पेशागत मर्यादा कायम राख्न आग्रह गरे ।
लम्सालले पत्रकारहरुको पेशागत दक्षता र व्यवसायिक सुरक्षाका लागि नेपाल प्रेस युनियन गम्भीर गम्भीर रहेको बताए ।
भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री निमा गिरीले विश्वसनीय पत्रकारिता कमजोर बन्दै गइरहेको भन्दै पत्रकारितामा स्वतन्त्रताका नाममा स्वच्छन्दता हाबी भएको बताए ।
नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश अध्यक्ष सुदीप गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्ष माधव अर्याल, महासचिव दिलिप पौडेल, केन्द्रीय सदस्य विमल ज्ञवाली, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव विक्रम खड्का, नेपाल प्रेस युनियन पाल्पा अध्यक्ष मन गहिरेले मन्तव्य ब्यक्त गरेका थिए ।
प्रेस युनियनका प्रदेश उपाध्यक्ष पहलमान घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव नवीन गिरीले गरेका थिए ।