२०८१ असोज ३ गते बिहिवार

राज्यबाट उपेक्षित घोडापालक किसान


दाङ, बैशाख १४ ।
घोडापालक किसानले राज्यले घोडालाई उपेक्षा गर्दै आएको बताएका छन् । अरु पशुसरह घोडालाई समान माया नगरेको उनीहरुको गुनासो गरेका छन् । विश्व भेटनरी दिवसको अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १० वनगाउँस्थित लेखराज खड्काको मिलमा आयोजित कार्यक्रममा घोडापालक किसानले त्यस्तो गुनासो गरेका हुन् ।

एकजना किसान राजकुमार चौधरीले किसानको सुख दुःखको साथी घोडाको बिमा गराउने वातावरणसमेत राज्यले निर्माण नगर्नुले विभेद स्पष्ट भएको तर्क गरे । गाई, भैंसी, सुंगुर बंगुर र कुखुराको समेत बिमा हुने तर किन घोडाको बिमा नगर्ने राज्यको नीतिले आफूजस्ता घोडापालक किसान निरास भएको उनको कथन छ ।

अरु पशुसरह घोडाले राज्यबाट समान सुविधा र माया नपाएको हुँदा तत्काल राज्यले घोडाको बिमा गर्न ध्यान दिनुपर्ने उनको माग थियो । तुलसीपुर–१० बन्गैका अर्का घोडापालक किसान प्रदिप चौधरीले राज्यले घोडाको लागि अन्य पशुसरह भ्याक्सिनसमेत उपलब्ध नगरेको गुनासो गरे । ‘हाम्रा हजारौं मुल्य पर्ने घोडा खोपको अभावमा मर्दा हामीलाई ठूलो क्षति भएको छ’, चौधरीले भने ‘घोडापालक किसानको लागि राज्यले कुनै सेवा दिएको छैन ।’

उनले टिटानसको खोप र जुकाको औषधी नपाउँदा समस्या भएको बताए । अर्का किसान शिवचरण चौधरीले बजारमा सामान ढुवानी गरेर जाँदा घोडाको लागि कतैपनि आराम गर्ने तथा बस्ने ठाउँ नभएको हुँदा साह्रै अप्ठेरो झेल्नु परेको बताए । ‘हामीले गाउँ घरबाट स्थानीय उत्पादन घोडामा लगेर बजार जाँदा कतै घोडा राख्ने ठाउँ हुँदैन ।

आवश्यक सामाग्री किनमेल गर्न जाँदा पनि घोडा साथमै लगेर जानुपर्दा व्यस्त बजारमा समस्या हुनेगर्छ’, चौधरीले भने । सहर बजारमा घोडालाई कसैले पनि आफ्नो घर वा पसल अगाडि दिसा गर्छ भनेर उभिन समेत नदिने गरेको उनले बताए । ‘हामीलाई हेला गर्छन्, घोडा उता हटाउ भन्छन्’, चौधरीले भने ।

उनले स्थानीय सरकारले बजारमा घोडा बस्ने छुट्टै स्थान निर्माण गर्न ध्यान दिए उक्त समस्या समाधान हुने अपेक्षा गरे । कार्यक्रममा तुलसीपुर १० का वडा अध्यक्ष कुमार लामिछानेले घोडापालक किसानमाथि राज्यबाटै विभेद भएको स्वीकार गर्दै त्यो चिर्न सबै लाग्नुपर्ने बताए । उनले तुलसीपुरमा एउटा घोडा राख्ने ठाउँ बनाउनका लागि नगरप्रमुखलाई भनेर पहल थाल्ने आश्वासन दिए ।

सन्दर्भः विश्व भेटनरी दिवस


कार्यक्रममा पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा केन्द्र पोखराबाट सञ्चालित दिगो हर्ष कल्याणका लागि सुधारिएको मानव आचरण परियोजना दाङका जिल्ला संयोजक रमण मिश्रले स्थानीय सरकारले भेटनरी दिवस मनाउन कुनै पनि वास्ता नगरेको हुँदा गाउँमा आएर दिवस मनाउनु परेको जानकारी दिए ।

यो भन्दा अघिल्लो बर्षसम्म तुलसीपुर बजारमा भेटनरी दिवस मनाउने गरिन्थ्यो । ‘हामीले आग्रह गर्दा कसैले कुनै चासो दिएनन् । पैसा छैन भने र हामी वनगाउँमा मिल सञ्चालन गर्दै आएका लेखराज खड्काको सहयोगमा यहाँ कार्यक्रम गर्न आएका हौँ’, मिश्रले भने । व्यवसायी खड्काले घोडापालक किसानलाई संगठित गर्ने, समिति बनाउनेजस्ता कार्य गर्नुको साथै घोडापालक किसानलाई प्रोत्साहान गर्दै आएको हुँदा गाउँमा गएर दिवस मनाइएको मिश्रले बताए ।

कार्यक्रममा ५० जना घोडापालक हरेक किसानलाई तीन किलो मकैं, एक प्याकेट नुन प्रदान गरिएको थियो भने ७० वटा घोडाको लागि जुकाको औषधीसमेत वितरण गरिएको थियो । कार्यक्रममा स्थानीय पशु स्वास्थ्यकर्मी पोषणराज गौतमले घोडापालक किसानलाई राज्यले समयमै खोप उपलब्ध नगराउँदा घोडा बिरामी हुने र मर्ने समस्या बढ्दै गएको बताए । ‘पशुलाई भ्याक्सिन गरौं’ भन्ने नाराका साथ किसानले घोडाको ¥याली समेत निकालेका थिए ।

प्रकाशित मिति : २०७६ बैशाख १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *