२०८१ भाद्र २६ गते बुधवार

यस्तो छ, जुनेद अन्सारी अपहरण र हत्या काण्डको नालिबेली


दाङ,बैशाख १४ । अपहरण गरि व्यक्ति हत्या गर्ने र सरकारी जग्गा कागज किर्ते कार्यमा संलग्न सरकारी कर्मचारीदेखि विभिन्न १६ जना व्यक्ति पुर्पक्षका लागि जेल चलान भएका छन् । घटनामा संलग्न मध्य १२ जना अझैं फरार रहेका छन् भने ३ जना भने जनही १÷१ लाख धेरौटी राखेर तारेखमा रिहा भएका छन् ।

प्रहरीका अनुसार पक्राउ परेका १९ जना मध्य २ जना मालपोत कार्यालय प्रमुखसहित १२ जना कर्मचारी, २ जना लेखनदास र २ जना सर्वसाधारण व्यक्ति पूर्पक्षका लागि थुनामा रहेका छन् भने थप ३ जना कर्मचारी जनही १÷१ लाख धरौटी राखेर तारेखमा छुटेका छन् । व्यक्ति अपरहण पछि हत्यादेखि जग्गा किर्ते कार्यमा संलग्न १ जना भारतिय नागरिक सहित १२ जना भने फरार रहेका छन् ।

प्रहरीका अनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ निवासी खैरुल हसन अन्सारीले भारतको जयसपुर घर भई नेपालगञ्ज १६ जयसपुरमा डेरा गरि बस्ने जुनेद अन्सारीलाई गत माघ २२ गते नेपालगञ्जको चार बाहिनी चोकबाट अपहरण गरेका थिए । जुनेदको भारतको बाबगंज लगेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । जुनेदको एउटा हात, एउटा खुट्टा काटिएको र जल्दै गरेको अवस्थामा भारतिय प्रहरीले् शव फेला पारेको थियो ।

त्यसपछि जुनेदकी पत्नि गौरी मल्ल अन्सारीले फागुन २३ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा पतिको अपहरण र हत्या बारे अनुसन्धान गर्न भन्दै जाहेरी दिए पछि प्रहरीले अनुसन्धान थालेको थियो । बाँके प्रहरीले अनुसन्धान गर्दै जाँदा खैरुलसहित नेपाल र भारतका सेमत गरि ५ जना मिलेर जुनेदको हत्या गरेको रहस्य पत्ता लगाउन सफल भएको थियो ।

प्रहरीका अनुसार अनुसन्धान वाट खैरुल र जुनेद पार्टनसिपमा जग्गाको कारोवारो गर्ने भूमाफिया थिए ।

५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रवक्ता तथा टिकाबहादुर कार्कीका अनुसार प्रहरीको अनुसन्धानका क्रममा खैरुल र जुनेदले मालपोत कार्यालय बाँकेका कर्मचारी संगको सेटिङ र मिलेमतोमा सरकारी जग्गाको सक्कल कागजातहरु आफ्नो नियन्त्रणमा लिएर गैरकानुनी रुपमा सरकारी जग्गा आफन्तको नाममा नामसारी गराउने जस्ता गलत कार्य गर्दै आएको तथ्य फेला परेको छ ।

खैरुल र जुनेदले आफ्नी आमा र सासुको नाममा सरकारी जग्गा गैरकानुनी रुपमा कर्मचारी संगको सेटिङमा नामसारी गरेको पत्ता लागेको छ । बाँकेको खास कारकाँदो वडा नं. ७ को कित्ता नं. २१० को ५ कठ्ठा १३ धुर, सिक्टा सिंचाई आयोजनाको कम्पाउण्ड भित्रको जग्गा समेत ९ महिना पहिले खैरुलले सरकारी जग्गा किर्ते गरि आफ्नी आमा हसरतुन निसा अन्सारीको नाममा जग्गा धनी श्रेस्ता कायम गरिसकेका थिए । त्यसैगरी ८ महिना पहिले मात्रै जुनेदले पनि नेपालगंज उपमहानगरपालिका वडा नं. ३ स्थित कित्ता नं. १४ को ५ कठ्ठा १३ धुर सरकारी जग्गा किर्ते कागज गरि आफ्नी सासु लाली मल्लको नाममा जग्गा श्रेस्ता कायम गरेका थिए । त्यसैगरी खैरुलले बर्दिया जिल्लाको साविक नेउलापुर गाविस वडा नं. ७ स्थित कित्ता नं. १९१ ९ (ख) ७, ८, ५०, ६१, र ६३ समेत गरेर ६ विगाहा ३ कठ्ठा १४ धुर सरकारी जग्गा ७ महिना पहिले मात्रै आफ्नी आमा हसरतुनको नाममा नामसारी गरेका प्रमाण फेला परेको प्रहरीले जनाएको छ ।

खैरुलल सुरुमा उक्त जग्गा आफ्ना बाबुको नाममा दर्ता श्रेस्ता कायम गरि गत पुस १२ गते मात्रे आफ्नी आमाको नाममा नामसारी गराएको प्रहरी अनुसन्धानको तथ्यले देखाउँछ । यही गलत कार्यकै कारण आफ्नो गैरकानुनी कार्यको राज छिपाउन खैरुलले जुनेदलाई अपहरण तथा हत्या गरेको खुल्न आएको छ । बाँके र बर्दियाका मालपोत कार्यालयका सरकारी जग्गाको श्रेस्ता (सक्कल कागजात) खैरुल बाट लगेर जुनेदले आफ्नो कोठामा राखे पछि ती दुई जना भूमाफियाका बीचमा तिकक्ता बढ्दै जाँदा अपहरण र हत्या गरेको प्रहरीले बताएको छ ।

खैरुलले जुनेद संग ती जग्गाका कागजहरु पटक÷पटक नष्ट गर्नको लागि माग गर्दा पनि जुनेदले नदिए पछि अपहरण तथा हत्याको योजना खैरुलले बुनेको प्रहरी अनुसन्धान बाट खुल्न आएको छ ।

बाँके प्रहरीले हत्या गरिएका जुनेदको कोठाबाट ती सबै सरकारी जग्गा किर्ते गरि व्यक्तिको नाममा नामसारी गरेका सक्कल प्रमाणहरु फेला पारेका छन् ।

यसैबीच अपहरण पछि व्यक्ति हत्या गर्ने र सरकारी जग्गामा किर्ते काजग गर्ने कार्यमा संलग्न १६ जनालाई पूर्पक्षका लागि जेल चलान गरिएको छ । सरकारी वकिल कार्यालय बाँके मार्फत उक्त मुद्दामा जिल्ला अदालत बाँकेले यही बैशाख १२ गतेको निर्णय अनुसार जुनेद अन्सारीको अपहरण र हत्यामा संलग्न अभियुक्तहरु खैरुल हसन अन्सारी, सज्जन सैयाद र सरकारी कागज किर्ते गरि सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने कार्यमा संलग्न बाँकेका मालपोत अधिकृत लगायत कर्मचारी, लेखनदास समेत गरि १६ जनालाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । तर त्यसमध्य घटनामा संलग्न एकजना भारतिय नागरिक सहित १२ जना फरार रहेको हुँदा उनीहरुको खोजी कार्या तीव्र पारिएको छ ।

पूर्पपक्षका लागि थुनामा गएका १६ जनाको को – को हुन ?
१) खैरुल हसन अंसारी – नेपालगञ्ज ३ निवासी (भूमाफिया)
२) सज्जन सैयाद – नेपालगञ्ज १७ (अपहरणमा संलग्न)
३) लेखनदास – बिरु भन्ने बृहस्पति खड्का – नेपालगञ्ज ९ (कागज किर्ते भर्ने)
४) लेखनदास – पुप्पु धोवी, बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा नं. ७ (कागज किर्ते भर्ने)
५) मालपोत अधिकृत – पुष्पा श्रेष्ठ – बाँकेका तत्कालिन अधिकृत र हाल जिल्ला हुलाक कार्यालय बाँके (दृष्टिबन्धक पारित गर्ने)
६) मालपोत अधिकृत – रामकुमार रोका – भूमिसुधार तथा मालपोत कार्यालय बर्दिया ( श्रेस्ता नक्कल दिने र दृष्ट्रिवन्धक पारित गर्ने)
७) नायव सुव्वा – टंकप्रशाद शर्मा – मालपोत कार्यालय बाँके (जग्गा साविक गर्ने)
८) नासु – रामबहादुर खड्का – मालपोत कार्यालय बाँके ( श्रेस्ताको प्रतिलिपी प्रमाणित गर्ने र दृष्ट्रिवन्धकको लागि पेश गर्ने)
९) नासु – रुद्रबहादुर देवकोटा – मालपोत कार्यालय बाँके (तिनपुस्ते कायम गर्ने)
१०) नासु – कष्णलाल शर्मा – मालपोत कार्यालय बाँके – नामसारी निर्णय पर्चा खडा गर्ने)
११) नासु – मानबहादुर केसी – मालपोत कार्यालय बाँके (श्रेस्ताको प्रतिलिपी दिने)
१२) खरिदार – यज्ञश्वर वली – मालपोत कार्यालय बाँके – कम्प्यूटरमा इन्ट्रि सदर गर्ने)
१३) खरिदार – भुमिराज पोखरेल – मालपोत कार्यालय बर्दिया (मोठ भिडाउने, आफै दृष्ट्रि बन्धक लिने)
१४) खरिदार – सुशिल रिजाल – मालपोत कार्यालय बाँके ( मोठ भिराउने)
१५) क . अ . (करार) – लक्ष्मी मल्ल – मालपोत कार्यालय बर्दिया (कम्प्यूटर मोठ भिडाउने)
१६) का.स. अन्तराम चौधरी – मालपोत कार्यालय बाँके ( रातिको समयमा कार्यालयमा खैरुल हसन अन्सारी र जुनेद अन्सारीलाई मोठ देखाउने)

एक लाख धरौटीमा छुटेका ३ जना को–को हुन ?
१) खरिदार – तुल्सारानी थारु – मालपोत कार्यालय बर्दिया (भिडी सकेको मोठलाई पुनः रोक्का भिडाउने)
२) खरिदार – संजय कुमार ठाकुर – मालपोत कार्यालय बाँके ( राजश्व रसिद काट्ने)
३) स.क.अ. (करार) – प्रेमबहादुर चन्द – मालपोत कार्यालय बाँके (कम्प्यूटरमा जग्गा ईन्ट्रिगर्ने )

अझैं फरार १२ जना प्रतिवादीहरु को–को हुन ?
१) प्रमुख मा.अ – कृष्णप्रशाद ज्ञवाली – भुसंरक्षण तथा मालपोत कार्यालय बर्दिया (तोक लगाई जग्गाको नामसारी निर्णय सरद गर्ने )
२) प्रमुख मा. अ. दिर्घबहादुर पोखरेल – मालपोत कार्यालय कैलाली ( खैरुल हसन अन्सारीको वयान वाट निजको समेत संलग्ना रहेको भन्ने खुल्न आएको)
३) मा.अ – हेमराज शर्मा – मालपोत कार्यालय बाँके (तीन पुस्ते निर्णय कायम तथा निर्णय सदर गर्ने)
४) मा.अ. – अशोक कुमार भट्टराई – मालपोत कार्यालय कावासोती (साविक प्रक्रियामा संलग्न)
५) खरिदार – कुलानन्द राउत – मालपोत कार्यालय महोत्तरी (मोठ भिडाउने)
६) खरिदार – रविन्द्र थापा – ना.न.पा. २ दैलेख – कर्मचारीले नै राखेको दृष्ट्रिबन्धक लिखतको रजिष्ट्रेशन फाँटको काम गर्ने)
७) खरिदार – किशोर कुमार रिजाल – मालपोत कार्यालय बर्दिया (कर्मचारीले नै राखेको दृष्ट्रिबन्धक मोठमा भिडाउने)
८) का.स. सुर्यप्रशाद उपाध्याय – मालपोत कार्यालय बर्दिया (श्रेस्ता उतार गर्ने)
९) सर्वसाधारण – बच्छराज लोनिया – बाँके डुडुवा गा.पा ४ (अपहरण गरि कतव्र्य गर्ने)
१०) सर्वसाधारण – सब्बिर अली सिद्धिकी – नेपालगञ्ज ७ (अपहरण गरि कतव्र्य गर्ने)
११) सर्वसाधारण – अकवर अली खाँ – नेपालगञ्ज २१ (अपहरण गरि कतव्र्य गर्ने)
१२) सर्वसाधारण – अवधेस ठाकुर – भारत बाबागंज (अपहरण गरि कतव्र्य गरेको कसुर)

कर्मचारीको किर्ते कारोवारोको संवन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान जारी राखेको छ ।

 

प्रकाशित मिति : २०७६ बैशाख १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *