२०८१ बैशाख ८ गते शनिवार

दाङमा दुईवटा अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण हुने


दाङ, वैशाख १३ । प्रदेश सरकारले प्रदेशका दाङमा दुईवटा अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउने निर्णय गरेको छ । दाङको राप्ती गाउँपालिका ७ बसन्तपुरमा सबै खेलहरू खेल्न मिल्ने गरी अन्तराष्ट्रिय रंगशाला बनाउने र घोराही र बुटवलमा अहिले रहेका रंगशालाको स्तरोन्नति गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।

दाङमा निर्माण गर्ने रंगशालाका लागि राप्ती गाउँपालिकाले १ सय ७२ विगाहा १९ कठ्ठा, १ धुर जग्गा यसअघि नै उपलब्ध गराइसकेको छ ।

त्यसैगरी दाङकै घोराही उपमहानगरपालिका वडा नं. १६ मा रहेको नेत्रलाल अभागी रंगशाला र बुटवल उपमहानगरपालिका १३ स्थित जवही खेल मैदानलाई उजिरसिंह रंगशालाको रुपमा स्तरोन्नति गर्ने पनि सरकारले निर्णय गरेको छ ।

नेत्रलाल अभागी रंगशालाको लागि घोराही नगरपालिकाले २५ विगाह ९ कठ्ठा १० धुर जग्गा उपलब्ध गराएको छ भने उजिरसिंह रंगशालाको लागि बुटवल उपमहानगरपालिकाले २ विगाह ८ कठ्ठा जग्गा उपलब्ध गराइसकेको छ ।

प्रदेश सरकारका ६ वटा विदा
त्यस्तै प्रदेश मन्त्रिपरिषद्बाट प्रदेश सरकारले यस वर्षदेखि ६ वटा आफ्नै बिदा दिने निर्णय गरेको छ । फागुन ३ गते प्रदेश स्थापना दिवस, एकदिन बकर ईद पर्व, माघ १ र २ गते माघे संक्रान्ति पर्वमा बिदा दिइने छ ।

त्यस्तै स्थानीय चाडपर्वलाई मध्यनजर गरी स्थानीय तहबाट १ दिन र स्थानीय समुदायमा आधारित पर्व जस्तै थारु समुदायको अटवारी पूजा, मगर समुदायको भूभ्या पूजा, मुस्लिम समुदायको रमजान जस्ता पर्व तथा जितगढी विजयी उत्सव, भगवती जात्रा जस्ता उत्सवहरूमा स्थानीय तहले विदा दिन सक्ने प्रवक्ता चौधरीले जानकारी दिए ।

विपदमा ज्यान गुमाएका परिवारलाई जनमही १ लाख दिने

प्रदेश नं. पाँच सरकारले विभिन्न विपदमा परेर ज्यान गुमाएका मृतकका परिवारलाई राहत प्रदान गर्ने भएको छ।

प्रदेश नं. ५ सरकारले विभिन्न प्राकृतिक विपत्तिमा परि मृत्यु भएकाका परिवारलाई जनही १÷१ लाख रुपैंया राहत स्वरूप दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले प्रदेश सरकार स्थापना भएको २०७४ फागुन ३ गतेदेखि २०७५ पुस मसान्तसम्म विभिन्न प्राकृतिक विपत्तिमा परि मृत्यु भएका मृतकका आफन्तलाई राहत रकम दिने निर्णय भएको जानकारी दिए ।

यो अवधिमा आगलागी, बाढीपहिरो, चट्याङ, डुबान, करेन्ट जस्ता प्राकृतिक विपत्तिमा परि ५ नं. प्रदेशमा ५१ जनाको मृत्यु भएको प्रदेश सरकारको तथ्यांकमा उल्लेख छ ।

त्यसमभ्य सबैभन्दा धेरै बाढीले बगाएर १६ जनाको मृत्यु भएको छ । त्यस्तै चट्याङ तथा हावाहुरीबाट ११ जना, पहिरो तथा ढुंगाले लागेर ९ जना, डुबानबाट ६ जना र करेन्ट लागेर ४ जनाको मृत्यु भएको प्रवक्ता चौधरीले बताए ।

विभिन्न विपत्तिमा परी मृत्यु हुने सबैभन्दा बढी नवलपरासीमा ११ जना रहेका छन् । त्यस्तै पाल्पा र बाँकेमा ८÷८ जना, रोल्पा ७, प्यूठान र बर्दिया ५÷५, गुल्मी ४, रुकुम २ र दाङमा १ जनाको मृत्यु भएको छ ।

१२ जिल्ला रहेको प्रदेश पाँचका रुपन्देही, कपिलवस्तु र अर्घाखाँचीमा भने यस्ता घटनामा परी कसैको मृत्यु भएको छैन । प्रवक्ता चौधरीले उक्त राहत रकम मृतकका हकवाला वा आफन्तलाई प्रदान गरिने जानकारी दिए ।

प्रकाशित मिति : २०७६ बैशाख १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *