२०८१ भाद्र २७ गते बिहिवार

प्रलोभनमा पार्दै धर्म परिवर्तन …


दाङ, बैशाख १२ ।
प्रलोभनमा पारेर धर्म परिवर्तन गराउँदै हिडेका दुई विदेशीसहित पाँचजना क्रिश्चियनलाई दाङ प्रहरीले पक्राउ गरी कारवाहीको पक्रिया अगाडि बढाएको छ । जिल्लाका विभिन्न भागमा पुगेर गरिब र दुःखीलाई प्रलोभनमा पार्दै क्रिश्चियन बनाउन कार्यमा संलग्न ती पाँचजना व्यक्तिलाई दाङ प्रहरीले मंगलबार घोराहीको एक होटलबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा अमेरिकी नागरिक (महिला) सिनक्वान्टा ओलिएना मे, भारतीय नागरिक गौरव श्रीवास्तव, (पोखरा निवासी) क्रिश्चियन समाजका महासचिव डिल्लीराम पौडेल, संखुवासभाका कुन्साङ तामाङ र गाडी चालक नेपालगंजका प्रमोद काफ्ले रहेका छन् । तर प्रहरीले उनीहरुलाई पक्राउ गरेपछि छोड्न भन्दै प्रहरीमाथि ठूलो राजनीतिक दबाव आएको प्रहरीले स्रोतले जानकारी दिएको छ ।

जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले भने नजायज कार्यमा कसैको कुरा नसुनेर प्रहरीले कारवाही पक्रिया अगाडि बढाएको जानकारी दिए । पक्राउ परेकामध्ये अमेरिकी महिलाबाहेक तीनजना नेपाली र एक भारतीयलाई मुलुकी अपराध संहिता दफा १५८ को उप दफा २ बमोजिम जबरजस्ती धर्म परिवर्तन गराएको अभियोगमा मुद्दा चलाइएको एसपी पाण्डेले जानकारी दिएका छन् ।

अमेरिकी महिलाको हकमा भने उनको भिसा रद्द गरी सम्बन्धित देशमा फिर्ता पठाउन अध्यागमन कार्यालय काठमाडौँलाई चिठी लेखेको एसपी पाण्डेले बताए । भिसा रद्द गरेर पठाएमा फेरि कुनै पनि विदेशी नेपाल आउन नपाउने व्यवस्था रहेको एसपी पाण्डेले बताए । पक्राउ परेका व्यक्तिहरुका साथबाट बा १३ प ३१९६ स्कारपियो गाडी, एक कार्टुन बाइबल, पैसा राखिएका खाम, दमको उपचारका क्रममा वाफ दिने मेसिन, ल्यापटप, पेन ड्राइभ लगायतका सामग्री बरामद भएको एसपी पाण्डेले जानकारी दिए ।

उनीहरु एउटा उद्देश्यले नेपाल आउने र नेपालका गाउँ गाउँमा छिरेर अर्कै गतिविधि सञ्चालन गर्ने गरेको तथ्य उजागर भएको प्रहरीले बताएको छ । सर्वसाधारणको गुनासोको आधारमा अनुसन्धान गर्दै जाँदा पक्राउ परेका व्यक्तिहरुले धर्म परिवर्तन गराउन विभिन्न प्रलोभन दिनुका साथै पैसासमेत वितरण गरेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।

तर यसरी प्रलोभनमा पारेर धर्म परिवर्तन गराउँदै हिडेका पाँचजना क्रिश्चियनलाई पक्राउ गरेपछि उनीहरूलाई छाड्न भन्दै प्रहरीलाई भने अत्यधिक दबाब आएको प्रहरी स्रोतले बताएको छ । जिल्लाबाट निर्वाचित जनप्रतिनिधि र राज्यको महत्वपूर्ण जिम्मेवारी सम्हालेका व्यक्तिहरुबाट समेत ठूलो दबाव आएको भएपनि प्रहरीले नाम भने बताउन चाहेन ।

एसपी पाण्डेले क्रिश्चियनहरुलाई छोड्नका लागि आएको राजनीतिक दबाबलाई अस्विकार गरेसँगै उनलाई सरुवा गराउने धम्कीसमेत आएको स्रोतको दाबी छ ।

प्रकाशित मिति : २०७६ बैशाख १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *