२०८२ माघ १० गते शनिवार

नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड

काठमाडौँ,भदौ १ । नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा वार्षिक १२ अर्ब ३३ करोड रुपैयाँ नाफा आर्जन गरेको जानकारी दिएको हो।

त्यसै सञ्चित नाफा ३६ अर्ब ६७ करोड रुपैयाँ पुगेको बताइएको छ। प्राधिकरणको ३८ औँ वार्षिक उत्सवमा बोल्दै प्रवन्ध निर्देशक कुलमान घिसिङले आर्थिक वर्ष २०७२/०७३ सम्म आइपुग्दा वार्षिक घाटा ८ अर्ब ९० करोड रुपैयाँ र सञ्चित नोक्शानी बढेर ३४ अर्ब ६१ करोड रुपैयाँ पुगेको उल्लेख गर्दै आर्थिक वर्ष ०७३/०७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरी प्राधिकरणले नाफा कमाउन शुरु गरेको बताए।

उनले प्राधिकरणको शेयर सर्वसाधारणलाई समेत जारी गर्नेगरी प्राधिकरणको तेस्रो चरणको वित्तीय पुनःसंरचना प्रश्ताव स्वीकृतिका लागि सरकार समक्ष पेश गरिएको जानकारी दिए। उनले प्राधिकरणको प्राथमिक सेयर सर्वसाधारणलाई निष्काशन गरी संकलन गरिएको रकम ठूला जलविद्युत आयोजनाहरुको निर्माणमा लगानी गरिने बताए।

प्रवन्ध निर्देशक घिसिङले संस्थाभित्र आर्थिक पारदर्शिता, जवाफदेहिता र सुशासनलाई कडाइका साथ लागू गरिएको बताए। उनले प्रशासन तथा वितरण चुहावट १३.४६ प्रतिशतमा सिमित गरेर प्राधिकरणको इतिहासमा नयाँ रेकर्ड कायम गर्न सफल भएको बताए।

‘सरकारले प्राधिकरणको आर्थिक वर्ष ०६७/०६८ सालसम्मको २७ अर्ब १९ करोड रुपैयाँ सञ्चित घाटालाई अपलेखन गरिदिएपश्चात् पनि घाटामा जाने क्रम रोकिएको थिएन। घाटा अपलेखन गरिएको पाँचौ वर्ष अर्थात् आर्थिक वर्ष २०७२/०७३ सम्म आइपुग्दा वार्षिक घाटा ८ अर्ब ९० करोड र सञ्चित नोक्सानी फेरी बढेर ३४ अर्ब ६१ करोड रुपैयाँ पुगेको थियो।

आर्थिक वर्ष ०७३/०७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेर नाफाको गौरवमय इतिहास शुरु गरेको प्राधिकरण त्यसपछिका आर्थिक वर्षहरुमा निरन्तर नाफामा छ।’उनले भने,’गत आर्थिक वर्षसम्म आइपुग्दा वार्षिक १२ अर्ब ३३ करोड रुपैयाँ नाफा आर्जन गरी सञ्चित नाफा ३६ अर्ब ६७ करोड पुगेको छ। सर्वसाधारणलाई समेत सेयर जारी गर्नेगरी प्राधिकरणको तेस्रो चरणको वित्तिय पुर्नसंरचना प्रस्ताव स्वीकृतिका लागि सरकार समक्ष पेश गरिएको छ।

प्राधिकरणको प्राथमिक सेयर सर्वसाधारणलाई निष्काशन गरी संकलन गरिएको रकम मुख्यरुपमा ठूला जलविद्युत आयोजनाहरुको निर्माणमा लगानी गरिनेछ। प्राधिकरणको सम्पूर्ण सम्पतिको वास्तविक मूल्यांकन गराइएको छ भने क्रेडिट रेटिङ गर्ने संस्था इक्रा नेपालले प्राधिकरणको समग्र अवस्थाको अध्ययन गरी डबल ए प्लस रेटिङ दिएको छ। संस्थाभित्रको आर्थिक पारदर्शिता, जवाफदेहिता र सुशासनलाई कडाइका साथ लागु गरिएको छ।

प्रशासन तथा वितरण चुहावट १३.४६ प्रतिशतमा सिमित गरेर प्राधिकरणको इतिहासमा नयाँ रेकर्ड कायम गर्न सफल भएका छौँ। प्राधिकरणको केन्द्रिय प्रणालीबाट ९५ प्रतिशत र साना तथा लघु जलविद्युत एवं सौर्य विद्युतबाट करिव ३ प्रतिशत गरी करिब ९८ प्रतिशत जनतामा विद्युत सेवा पुगेको छ।

आगामी दुई वर्ष भित्र पूर्ण रुपमा विद्युतिकरण गर्ने सरकारको कार्यक्रमलाई कार्यान्वयन गर्न सम्पूर्ण तयारी पुरा गरी आवश्यक कार्य अगाडी बढाइएको छ । वित्तीय अवस्थामा सुधार, संस्थाभित्रको सुशासन, हरेक नागरिकको घरमा विद्युत पुर्याउन विद्युतिकरण, विद्युत आपुर्तिलाई पर्याप्त, विश्वसनीय र गुणस्तरीय बनाउन प्रशारण र वितरण तर्फका पूर्वाधार संरचनाहरुको बिस्तार एवम् सुदृढीकरण, उत्पादन तर्फका रणनीतिक महत्वका रुपान्तरणकारी ठूला जलविद्युत आयोजना अगाडी बढाउने, आन्तरिक रुपमा खपत वृद्धि तथा बढी भएको विद्युत निर्यात लगायतलाई उच्च प्राथमिकतामा राखी प्राधिकरणको हरेक गतिविधि अगाडी बढेको छ।’

उनले हाल ९८ प्रतिशत जनतामा विद्युतको सेवा पुगेको बताए। आगामी दुई वर्षभित्र देशभित्र पूर्ण रुपमा विद्युतिकरण गर्ने गरी आवश्यक कार्य अगाडि बढाइएको उनले जानकारी गराए।

प्रकाशित मिति : २०८० भाद्र १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *