प्रिया स्मृती गजमेर
दाङ, बैशाख ११ ।
व्यापार ब्यवसाय सम्बन्धित निकायमा दर्ता नगरेर राज्यलाई कर छल्दै र स्थानीय ब्यापारीलाई घाटा हुने काम गरेको भन्दै घुम्ती ब्यापारीलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ । तन्ना, ब्लयाङ्केट, गलैचा, कुर्ता सुरुवाल गरी १ सय १४ थान काँचो कपडासहित आठजना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
वडा प्रहरी कार्यालय लमहीका प्रमुख अरुण कुमार सिंह, देउखुरी उद्योग वाणिज्य संघ, पत्रकारको रोहवरमा अब आइन्दा यस्तो काम नगर्ने शर्तमा कागज बनाएर नेपालगंज हुँदै भारत फर्काइएको छ । ती घुमन्ते ब्यापारीले काँचो कपडाहरु भारतीय बजारबाट ल्याएको र कैलाली नेपालगंजका विभिन्न कपडा पसलका नाममा बिल बनाएर ल्याएका छन् ।
देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले राज्यलाई कर छलेर अवैध तरिकाले सस्तो मुल्यमा बेच्ने गर्दा स्थानीय ब्यापारीलाई नोक्सान हुने गरेको बताए । सस्तो मुल्यमा नक्कली सामान बेच्ने, प्रायजसो गाउँ केन्द्रित हुने गर्दा ग्राहक बजार आउने बाटो नै बन्द भएका बताए । जसले गर्दा बजारका ब्यवसायी मारमा परेका छन् । श्रेष्ठले अबदेखि लमही बजारमा यस्ता किसिमका ब्यापारीलाई पूर्णरुपले बन्देज लगाइने बताए ।