२०८१ भाद्र २६ गते बुधवार

मातृशिशु स्वास्थ्यमा लगानीः नगरप्रमुख चौधरी


दाङ, बैशाख ११ ।
घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सुखी र समृद्ध परिवारका लागि मातृशिशु स्वास्थ्यमा लगानी गर्नुपर्ने बताएका छन् । उपमहानगरको वडा नम्बर १३ ले आयोजना गरेको बालबालिका तथा महिला समुदायमा आधारित संरक्षणसम्बन्धी अभिमुखीकरण कार्यक्रममा नगर प्रमुख चौधरीले व्यक्ति स्वस्थ भए मात्रै समाजको विकास हुने बताए ।

मातृशिशु स्वास्थ्यमा समय अनुसारको लगानी र हेरचाह भएमात्रै व्यक्ति, परिवार, समाज र देश सुखी एवं समृद्ध बन्ने उनको भनाई छ । बालबालिका र आमालाई गर्भदेखि नै आवश्यक स्याहार, लगानी र अवस्था जाँचलाई सबैले ध्यान दिए मात्रै स्वस्थ्य सुढृढ हुने बताए । गर्भ अवस्थामा अनिवार्य स्वास्थ्य जाँच, पोषिलो खाना, नियमित खोपलाई छुटाउन नहुने भन्दै जन्मपछि आमा र बच्चाको अधिकारलाई सुरक्षित गर्नु परिवार र राज्यको दायित्व भएको उल्लेख गरे ।

महिला हिंसा कसैले पनि गर्न नहुनेमा जोड दिदै उनले लैङ्गीक समानता परिवारबाटै कायम हुनुपर्नेमा जोड दिए । त्यसैगरी कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले बालअधिकार र मातृत्व स्वास्थ्यलाई परिवारले पहिलो प्राथमिकता दिनुपर्ने बताए । बाल विवाहलाई रोक्नुपर्ने, लैङ्गीक हिंसाविरुद्ध सचेतना जगाउनु पर्ने र न्यायपूर्ण समाज बनाउन सबैले भूमिका खेल्नुपर्ने बताए । वडा अध्यक्ष रविलाल घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख मोतीकुमारी विश्वकर्माले सहजीकरण गरेकी थिइन् ।

प्रकाशित मिति : २०७६ बैशाख ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *