दाङ, बैशाख १० ।
घोराही उपमहानगरपालिकामा २ हजार बढी विद्यार्थीले कक्षा ८ मा ग्रेड बृद्धिको परीक्षा दिन पाउने भएका छन् । नगरस्तरीय आधारभूत तह कक्षा ८ को परीक्षामा ३ विषयसम्म फेल भएकाहरुलाई ग्रेड बृद्धिको मौका दिईएअनुसार २ हजार ४६ जना विद्यार्थीले परीक्षा दिन पाउने भएका हुन् ।
ग्रेड बृद्धिको परीक्षा यही बैशाख १३ देखि १९ गतेसम्म सञ्चालन हुने र आठवटा परीक्षा केन्द्र तोकिएको नगर शिक्षा, युवा तथा खेलकुद महाशाखाले जनाएको छ । सिद्धरत्ननाथ मावि नारायणपुरमा १३ विद्यालयका २ सय ७६ जना, पशुपति विद्याश्रम नारायणपुरमा ४ विद्यालयका २ सय १५ जना, मावि रझेनामा ७ विद्यालयका ३ सय १८ जनाले परीक्षा दिदै छन् ।
त्यसैगरी, विद्याकुञ्ज सौडियारमा ९ विद्यालयका २ सय १० जना, मावि डाँडागाउँमा ७ विद्यालयका १ सय ७१, गंगामावि रामपुरमा ९ विद्यालयका १ सय ५७, बालविकास माविमा १६ विद्यालयका ३ सय १६ र पद्मोदय पब्लिक नमुना माविमा २१ विद्यालयका ३ सय ८१ जना परीक्षार्थीले परीक्षा दिने छन् ।
२ सय ४६ परीक्षार्थीमध्ये सरकारी १६ सय ६ र निजीका ४ सय ४० जना रहेका छन् । १३ गते विज्ञान, १४, गते गणित, १५ गते सामाजिक, १६ गते अंग्रेजी, १७ गते नेपाली, १८ गते स्वास्थ्य शारीरिक र १९ गते ऐच्छिक विषयहरुको परीक्षा हुने शाखा अधिकृत नारायणप्रसाद पौडेलले जानकारी दिए ।