२०८१ भाद्र २५ गते मङ्गलवार

पारालाइसिस पीडित चौधरीलाई एक लाख बढी सहयोग


दाङ, बैशाख ६ ।
दंगीशरण गाउँपालिका वडा नं. ३, रावतगाउँ निवासी तिलक चौधरीको उपचारको लागि विभिन्न निकायले १ लाख १७ हजार ९ सय ४६ रुपैयाँ सहयोग गरेका छन् । लामो सयमदेखि स्पाइनल इन्जुरी भई पारालाइसिसबाट पीडित रहेका चौधरीको घरमा शुक्रबार बिहान एक कार्यक्रम आयोजना गरेर उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।

तिलक चौधरी बचाउन अभियानकी संयोजक कल्पना शर्मा, दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी, दंगीशरण–३ का वडा अध्यक्ष पूर्णबहादुर चौधरी, तिलक चौधरी बचाउ अभियानका सदस्य शंकर शर्मा, दुर्गा चौधरीलगायतले संयुक्तरुपमा उक्त रकम पीडित चौधरीलाई हस्तान्तरण गरेका हुन् ।

तिलक चौधरी बचाउ अभियानकी संयोजक कल्पना शर्माको अध्यक्षतामा तथा दंगीशरण गाउँपालिका अध्यक्ष भागिराम चौधरीको प्रमुख आतिथ्यमा रकम हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो । रकम हस्तान्तरण गर्दै गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले पारालाइसिस पीडित चौधरीको उपचारको लागि गाउँपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

राज्यबाट हुने सेवा सुविधामा कुनै कन्जुस्याइँ नहुने भन्दै उनको उपचारका लागि सबैलाई आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरिदन पनि अनुरोध गरे । कार्यक्राममा वडा अध्यक्ष पूर्णबहादुर चौधरी, स्थानीय श्रीमण न्यौपानेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसैबीच आफ्नो उपचारको लागि रातदिन खट्नुहुने टिम र सहयोगी दाताहरुलाई पारालाइसीस पीडित तिलक चौधरीले सबैलाई धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सहजीकरण शंकर शर्माले गरेका थिए । करिब ८ बर्षदेखि पारालाइसिसबाट पीडित रहेका चौधरी उपचारको लागि आर्थिक अभाव भएपछि उनका साथीहरुले तिलक चौधरी बचाउ अभियान चलाएका छन् ।

उनीसंगै श्री सिद्ध पृथ्वी जनता माविमा एसएलसी दिएका २०४८ व्याचका शंकर शर्मा, दुर्गा चौधरी, कल्पना शर्मालगायतको टिमले चौधरीको उपचारको लागि आर्थिक संकलन गरिरहेका छन् । तिलक चौधरी बचाउ अभियानका सदस्य शंकर शर्माका अनुसार लुम्बिनी समाज नेपाल–कुवेतबाट ५१ हजार, दंगीशरण गाउँपालिका वडा नं. ६ लेटार निवासी हाल अमेरिकामा बस्दै आएका डिल्लीबहादुर रावतले २५ हजार १ सय २६, दंगीशरण–३ हेकुलीका मनोज चौधरीले ५ हजार, सोही ठाउँकै तेजबहादुर बुढाथोकी ५ हजार सहयोग गरेका छन् । त्यसैगरी दंगीशरण ५, मिरौलीका अर्जुन भण्डारीले २ हजार र तिलक चौधरीसँगै अध्ययन गरेका विभिन्न साथीहरुबाट २९ हजार ८ सय २० रुपैयाँ सहयोग प्राप्त भएको चौधरी बचाउन अभियानका सदस्य शर्माले जानकारी दिए ।

शर्माको अनुसार चौधरीको उपचारको लागि करिब १५ लाख भारतीय रुपैयाँ लाग्ने भएको छ । पाँच बर्ष अगाडि लखनऊको एक अस्पतालमा उपचार गर्न गएको बेला १२ लाख भारतीय रुपैयाँ मागेपछि उपचार नगराई घर फर्केका थिए चौधरी । आर्थिक अभावकै कारण उनि घरभित्र ठला परेर बसेका छन् । पछि उनका साथीहरुले थाहा पाएपछि अहिले करिब डेढ महिनादेखि उनको उपचारको लागि आर्थिक संकलन जुटाउने अभियानमा लागेको शर्माले बताए ।

प्रकाशित मिति : २०७६ बैशाख ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *