२०८१ बैशाख १४ गते शुक्रवार

समाचार लेखेकै भरमा पोखराका पत्रकार पक्राउ


कास्की, वैशाख २ । पोखराका एकजना पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । समाचार लेखेकै कारण पोखराबाट प्रकाशन हुने ‘ताण्डव’ साप्ताहिक र ताण्डवन्युज डटकमका सम्पादक अर्जुन गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

बतास कम्पनीका वीपेन्द्रराज बतासले पैसा नतिरेर ठगी गरेको समाचार लेखेपछि बतासले गिरीका विरुद्ध उजुरी हालेका थिए । बतासले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा गिरीविरूद्ध साइबर अपराधको मुद्दा हालेका थिए। त्यही आधारमा गिरीलाई कास्की प्रहरीले सोमबार बिहान पक्राउ गर्नु परेको कास्की प्रहरीले जानकारी दिएको छ ।

सिआइबीको आग्रह अनुसार पत्रकार गिरीलाई पक्राउ गर्नु परेको प्रहरीले बताएको छ । गिरीले चैत २२ गतेको अंकमा ‘ठग! बदमास वीपेन्द्रराज बतास’ शीर्षकको समाचार प्रकासित गरेका थिए । सोही समाचार ताण्डवन्युज डटकममा प्रकाशित भएको थियो।

पत्रकार गिरी विरुद्ध बतासले पत्रिका दर्ता नगरी आफूविरुद्ध समाचार लेखेको उजुरी दिएका छन् । यसैबीच गिरीलाई सोमवार नै प्लेन मार्फत काठमाडौं लगिएको छ ।

समाचारमा बतासले पोखराका व्यवसायी मनोज श्रेष्ठ र जनकराज पहारीलाई क्रमशः १ करोड ९८ लाख र २ करोड २५ लाख गरी ४ करोड २३ लाख ठगेको दाबी गरिएको छ ।

समाचार लेखेकै आधारमा प्रहरीले गिरीलाई साइबर क्राइम अन्तर्गत मुद्दा दर्ता गर्नु आपत्तिजनक कार्य भएको भन्दै नेपाल पत्रकार महासंघ कास्की शाखाले विरोध जनाएको छ । पत्रकार गिरीको अविलम्ब रिहाइको मागपनि उलने गरेका छन् ।

प्रकाशित मिति : २०७६ बैशाख २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *