दाङ, असार ७ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र नेपालका लागि भारतिय राजदूत नवीन श्रीवास्तवका बीचमा कुटनीतिक भेटवार्ता भएको छ ।
भगवान गौतम बुद्धको जन्मथलो लुम्बिनीस्थित थाइ मिनिस्टिर हलमा उनीहरुका बीचमा मंगलवार बिहान संयुक्त रुपमा योगा अभ्यास पछि कुटनीतिक भेटघाट भएको हो ।
मुख्यमन्त्री चौधरीको सचिवालयका अनुसार भेटघाटका क्रममा मुख्यमन्त्री चौधरीले अलपत्र अवस्थामा पुगेको तुलसीपुर– घोराही चारलेन सडक खण्ड निर्माणको काम तत्काल सुरु गर्नका लागि भारतिय राजदुत श्रीवास्तवलाई आग्रह गरेका थिए ।
भारतीय एक्जिम बैंकको एक करोड २१ लाख ८२ हजार तीन सय अमेरिकी डलरमा सडक निर्माणको जिम्मा लिएको भारतीय निर्माण कम्पनी तथ्यले पाँच वर्षसम्म काम नगरी सडक अलपत्र छोडेपछि सरकारले गत जेठ महिनामा सम्झौता रद्द गरि सकेको छ । अब यो सडक खण्ड कहिले र कसरी निर्माण होला भन्ने अन्यौंलता उत्पन्न भएको छ ।
यद्यपी नेपाल सरकारकी प्रबक्ता रेखा शर्माले भने सकभर फेरि एक्जिम बैंकलाई लगानीका लागि आग्रह गरिने बताउँदै आएकी छन् । संचार मन्त्री शर्माले तत्कालका लागि ठाउँ ठाउँमा खनेर अलपत्र अवस्थामा छोडिएको तुलसीपुर–घोराही २८ किलोमिटर सडक खण्डलाई साबिककै दुइ लेनमा मर्मत संभारको लागि झन्डै तीन करोड बजेट छुट्याइ सकिएको दाङमा बताएकी थिइन ।
सडक खण्ड मर्मतका लागि तत्काल टेन्डर आह्वान हुनेपनि उनले बताएकी थिइन । मन्त्रीले भने अनुसार काम भने अझैं सुरु भइ सकेको छैन । जसका कारण यात्रुले यात्राका क्रममा सास्ति खेप्नु परेको छ भने अर्कौ तर्फ सवारी साधनमा पनि टुटफुट र क्षति हुने गरेको यातायात ब्यवसायीहरु गुनासो गर्दै आएका छन् । भताभुङ्ग अवस्थाको सडक खण्डका कारण सवारी दुर्घटनापनि बढेको प्रहरी अधिकारीहरु बताउँछन ।
मुख्यमन्त्री चौधरी र भारतिय राजदूत श्रीवास्तवका बीचमा हुलाकी सडक समयमै सम्पन्न गर्ने बारेमा, पूर्व गोरखा (भारतिय सेना) को बस्ति क्षेत्रमा पानी ट्याङकी र पानी आपुर्तिको नविकरण गर्ने बारेपनि छलफल भएको थियो ।
भेटघाटका क्रममा लुम्बिनी प्रदेशमा प्राविधिक समर्थन र धार्मिक सर्किट निर्माण लगाएतका बारेमा सहकार्य गरेर काम गर्न मुख्यमन्त्री चौधरीले आग्रहपनि गरेका थिए ।
मुख्यमन्त्री चौधरी र भारतिय राजदुत श्रीवास्तवले बिहान ७ बजेदेखि ८ बजेसम्म लुम्बिनीमा संगै योग अभ्यासपनि गरेका थिए ।
