२०८१ बैशाख ७ गते शुक्रवार

तीन जना दंगाली युवाको भारतमा रहस्यमय मृत्यु

दाङ, चैत २९ ।
तीनजना दङ्गाली युवाहरुको भारतमा रहस्यमय तरिकाले मृत्यु भएको छ । रोजगारको सिलसिलामा भारत पुगेका तीनजना दङ्गाली युवाहरुको रहस्य मृत्यु भएपछि त्यसलाई पीडित पक्षले षड्न्त्रपूर्वक हत्या गरिएको भन्दै दोषीलाई कारवाहीको माग गरेका छन् । त्यही माग गर्दै बिहीबार रातभर शान्तिनगर गाउँपालिकाका स्थानीयले ईलाका प्रहरी कार्यालय तुललसीपुरमा नाराबाजी गर्दै धर्ना दिएका थिए ।

यसरी फेला प¥यो तीनजना युवाको शव
रोजगारीको लागि दाङको शान्तिनगर गाउँपालिका वडा नं. २ अमुवा निवासी निवासी २३ वर्षीय नोखिराम भण्डारी, सोही ठाउँ निवासी २१ वर्षीय प्रकाश वली र सोही ठाउँ निवासी २४ वर्षीय पूर्णबहादुर वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एवं एसपी वेलबहादुर पाण्डेले जानकारी दिए ।

एसपी पाण्डेका अनुसार चैत ६ गतेका दिन पूर्णबहादुर वली वेपत्ता भएपछि नोखिराम भण्डारी र प्रकाश वली उनको खोजी गर्न भन्दै गएका थिए । वलीको खोजीमा गएका भण्डारी र वली चैत १० गते भारतको कुल्लु मनालीको भिरमुनी मृत अवस्थामा फेला परेका थिए । मृतक भण्डारी र वलीको शव चैत १२ गते दाङ ल्याएर प्रहरीले आफन्तको जिम्मा लगाएको थियो ।

त्यसैगरी वेपत्ता रहेका पूर्णबहादुर वलीलाई खोजी गर्ने क्रममा चैत २५ गते भारतको कुल्लु मनालीको पतलीकुहलको जंगलमा शव फेला परेको एसपी पाण्डेले जानकारी दिए । चैत २८ गते मात्रै वलीको शव दाङ ल्याइएको छ

। मृतक सबै मजदुरीका लागि भारत गएका थिए । मृतक तीनैजना लगायत अन्य केही व्यक्तिहरुलाई समेत मजदुरीका लागि दाङको शान्तिनगर गाउँपालिका वडा नं. २ अमुवा निवासी ४६ बर्षीय जाईफली मियाँ स्थानीय ठेकेदार (मेट) ले लेवरी कामको लागि भन्दै गत मंसिर १४ गते भारतको हिमाचल प्रदेशको कुल्लुमनाली लगेका थिए ।

हत्या आशंका, आफन्तले शव बुझ्न मानेनन्
मजदुरीका लागि भारत पुगेका एकै स्थानका तीन युवाको रहस्यमय ढंगले मृत्यु भएपछि पहिलो पटक ल्याइएका दुईजनाको शव आफन्तले बुझे पनि पूर्णबहादुर वलीको शव भने आफन्तले बुझ्न मानेका छैनन् । शव बिहीबार राति ल्याएर मेट मियाँले आफन्तलाई बुझाउन खोज्दा आफन्तले शव बुझ्न नमानेका हुन् ।

आफन्तले शव बुझ्न नमानेपछि वलीको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङको शव गृहमा राखिएको छ । मृतकका आफन्तहरुले तीनजना युवाहरुलाई षड्न्त्रपूर्वक हत्या गरिएको हुँदा मेट मियाँलाई कारवाहीको माग गरेका छन् । आक्रोसित स्थानीयले मियाँमाथि कारवाहीको माग गर्दै रातभर ईलाका प्रहरी कार्यालय तुलसीपुरमा नाराबाजी गर्दै धर्ना दिएका छन् ।

मेट मियाँलाई ईप्रका तुलसीपुरले नियन्त्रणमा राखेको छ । ईप्रका तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले मेट मियाँलाई सुरक्षाको लागि पक्राउ गरिएको जानकारी दिए । रातमा ईप्रका आएको आक्रोसित भिडले मेट मियाँले नै तीनजना युवाहरुको षड्न्त्रपूर्वक हत्या गराउन भूमिका खेलेको भन्दै रातभर मियाको विरुद्धमा नाराबाजी गरेका थिए ।

घटना अनुसन्धानका लागि प्रहरी भारत जाँदै
घटनाको सम्वन्धमा सत्यतथ्य बुझ्नको लागि ईप्रका तुलसीपुरबाट एकजना प्रहरी अधिकृतसहित स्थानीय जनप्रतिनिधि र पीडित परिवारका सदस्यहरु शुक्रबार नै अनुसन्धानको लागि भारततर्फ जाने भएको छ । दाङ जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी विनोद विक्रम शाहले सहमति शुक्रबार नै घटनाको अनुसन्धानका लागि टोली भारत प्रस्थान गर्ने सहमति भएको जानकारी दिए । गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले तीनजना युवाको रहस्यमय मृत्युको खबर दुःखद भएको भन्दै त्यसबारेमा सत्यतथ्य अनुसन्धान गर्न भारत अनुसन्धानको लागि जान थालेको टोलीको सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोर्ने जानकारी दिए ।

प्रकाशित मिति : २०७५ चैत्र २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *