दाङ,जेठ १ । सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद दीपक गिरीले सरकारले सांसदहरूको मागको सुनुवाइ नगरेको भन्दै आपत्ति जनाएका छन्।
जब्दी पुल निर्माणका लागि सांसद सञ्जय गौतमले आमरण अनसन सुरु गर्नु परेको उल्लेख गर्दै उनले अरू सांसदहरूले आमरण अनसन बस्नुपर्ने अवस्था आउन नदिन पनि सरकारलाई सचेत गराए।
सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद गिरीले उदयपुरको त्रियुगा पुल, संखुवासभाको अरुण पुललगायतका विकास, निर्माणको काममा सांसदहरुले पटकपटक ध्यानाकर्षण गराउँदा पनि सरकारले कुनै कदम चाल्न नसकेको भन्दै आक्रोशसमेत व्यक्त गरे।
उनले सरकारले सबै सांसदहरूलाई आ-आफ्नो निर्वाचन क्षेत्रको विकास, निर्माणको काम अघि बढाउनका लागि दवाव दिन आमरण अनसननै बस्न बाध्य नपारोस् भनीट्ठ चेतावनीसमेत दिए।
उनले भने, ‘यही गरिमामय संसदका सांसद सञ्जय गौतम आफ्नो क्षेत्रको केही चिज पनि सदनमा पटक(पटक कुरा राख्दा पनि सरकारले वास्ता नगरेर आज जब्धी पुलमुनि १५ सुत्रीय माग राखेर आमरण अनसन बसेका छन्। जब्धी पुल बन्दैन। उदयपुरको त्रियुगा पुल बन्दैन। संखुवासभाको अरुणपुल बन्दैन। आमरण सुरुवात हुँदा पनि सरकारले आँखा लगाउँदैन। आज ३ दिन भयो( सांसद सञ्जय गौतम अनसन बस्नु भएको। अब भोलि नारायण खड्का त्रियुगा पुलमुनि आमरण अनसन बस्नु भएको छ भनेर सुन्न नपरोस्। पर्सि दीपक खड्का अरुणको पुलमुनि बस्नु भएको छ भनेर सुन्न नपरोस्। म सम्माननीय सभामुखमार्फत् यो नेपाल सरकारको आँखा खुलोस्।’
सांसद गिरीले संसदमा सांसदहरूले राखेका मागबारे सरकारलाई गम्भीर बन्न पनि पटक-पटक आग्रह गरे।
