२०८१ भाद्र २३ गते आइतवार

कपुरकोटका किसानलाई व्यवसायिक बाख्रापालन तालिम

फाइल तस्बिर

शंकर केसी,
सल्यान, चैत्र १९ । सल्यान कपुरकोट क्षेत्रका किसानलाई व्यवसायिक बाख्रापालन तालिम प्रदान गरिएको छ । आइतबार र सोमबार जागृति मिश्रित बाख्रापालन किसान समूहलाई तालिम प्रदान गरिएको हो । त्यस्तै कपुरकोट गाउँपालिकाले मंगलबार बाट ६ वटै वडाका किसानलाई तालिम दिन सुरु गरेको छ ।

तालिम उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष भिमबहादुर सेनले किसानलाई व्यवासायिक बाख्रा पालन तर्फ उन्मुख गराउन तालिम दिइएको बताएका छन् । निर्वाहमुखी नभइ व्यवसायिक रुपमा बाख्रा पालन गर्न सके मनग्य आमदानी लिन सकिने हुँदा पालिकाले त्यो प्रयास सुरु गरेको बताए । सल्यान पशुपालनका लागि उपयुक्त स्थान भएको हुँदा व्यवसायिक बाख्रा पालन बाट मनग्य आमदानी लिन सकिने संभावना रहेको सेनले औंल्याए ।

ग्रामिण क्षेत्रमा अर्थतन्त्रको मुख्य आधार मानिने बाख्रापालन व्यवशायलाई किसानले केहि प्राविधिक ज्ञान, सिप सिकेर अघि बढाउनुपर्ने प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालको भनाइ छ ।

पशु सेवा शाखा कपुरकोटका प्रमुख अरुणा भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कपुरकोट ३ का वडा अध्यक्ष मिनबहादुर सेन सल्यानमा व्यवसायिक बाख्रापालनको अथाहा संभावना रहेको बताएका थिए ।

तालिममा बाख्राको जात तथा विशेषताहरु, बाख्राको खोर तथा गोठको व्यवस्थापन, घाँस तथा आहारा व्यवस्थापनका विषयमा तालिम दिइने पशु सेवा शाखाका प्राविधिक अविकिरण डाँगीले बताए ।

त्यसका साथै बाख्रामा लाग्ने रोग, रोगको लक्षण, रोकथाम तथा यसको उपचार, गर्भिणी बाख्रा तथा पाठा पाठीको स्याहार सुसार गर्ने तरिका, बोका बाख्राको छनौट गर्ने तरिका र बाख्रामा हाडनाता प्रजनन गराउँदा हुने वेफाइदाका विषयमा समेत सहभागीलाई जानकारी दिइएको डाँगीले बताए । तालिममा प्रत्येक वडा ५÷५ जनाको दरले ३० जनाको सहभागिता छ ।

प्रकाशित मिति : २०७५ चैत्र १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *