राजेश खत्री,
दाङ, चैत १९ । राप्ती राजमार्ग अन्तरगत तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ स्थित राम्रीको राम्रीको मोडवाट फेरि एउटा ट्रक खसेको छ । पुस ६ गते मात्रै यही मोडवाट एउटा बस खस्दा १९ विद्यार्थी, २ शिक्षक तथा चालक र सहचालक गरि २३ जनाको मृत्यु भएको थियो । यसअघि पनि यही मोडवाट एउटा मोटरसाईकल र ट्रयाक्टर दुर्घटनामा परेका थिए ।
त्यही राम्रीकै मोडवाट आइतवार मध्यरातमा ना ६ ख ५४१४ नम्वरको ट्रक खसेर टुक्रा टुक्रा भएको छ । तर दुर्घटनामा परि कुनै मानविय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ । ट्रक सल्यान वाट तुलसीपुर तर्फ आउँदै गरेको थियो ।
घटनास्थल वाट फर्केपछि ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले ट्रक झन्डै ७ सय मिटर तल खसेको र त्यसको विभिन्न पाट पूर्जा झरप्रष्ट भएको जानकारी दिए ।
ट्रकका चालक सकुशल रहेको प्रहरीले बताएको छ । चालक सम्पर्कमा नआएको हुँदा दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ ।
यसैबीच राम्रीको मोडको ढिस्को काटेर र मोड फराकिलो पारिने भएको छ ।
पुस ६ गते भएको बस दुर्घटनामा परि २३ जनाको मृत्यु भएपछि ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका एसएसपी नरबहादुर केसीको संयोजकत्वमा गठित छानविन समितिले दुर्घटना रोक्न राम्रीको मोड काट्नु पर्ने सुझाव दिएको थियो ।
प्रहरीले आफ्नो प्रतिवेदनमा गलत रोड इञ्जिनियरिङले गर्दा राम्रीमा पटक÷पटक दुर्घटना हुने गरेको निष्कर्ष निकाले पछि मध्यपश्चिम सडक डिभिजन कार्यालय घोराही दाङले मोड काट्नका लागि टेन्डर आह्वान गरेको थियो । ठेक्का लागि सकेको भएपनि त्यो भिर काट्न ढिला भएपछि सोमवार मात्रै दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रशाद रिजालले सम्वन्धित ठेकेदारलाई बोलाएर काम छिटो गर्न आग्रह गरिएको जानकारी दिएका छन् ।
आइतवार राति फेरि राम्रीको मोडवाट ट्रक खसेपछि आफुले उज्वल निर्माण सेवाका दिपक न्यौपानेलाई बोलाएर तत्काल काम सुरु गर्न मौखिक आदेश दिइसकेको प्रजिअ अधिकारीले जानकारी दिए ।
ढिस्को काट्ने जिम्मा लिएका निर्माण व्यवसायिले एक दुई दिन भित्रै मेसिन लगरे काम थाल्ने आश्वासन दिएको प्रजिअ अधिकारीले जानकारी दिए ।