दाङ, चैत १८ ।
बारा र पर्सा जिल्लामा आइतबार साँझ आएको विनाशकारी हावाहुरीबाट कम्तीमा २७ जनाको मृत्यु भएको छ । घटनामा ४०० भन्दा बढी घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बारामा सबैभन्दा जनधनको क्षति भएको छ । दुबै जिल्लामा गरी २७ जनाको मृत्यु भएको छ ।
४०० बढी घाइते भएका छन् भने अरु विवरण आउन बाँकी नै छ । पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार जिल्लाका सबै एम्बुलेन्स उद्धारका लागि गाउँगाउँमा पठाई सुरक्षाकर्मी परिचालन गरिएको छ । यस आपत्कालीन अवस्थामा घाइतेको उपचारमा कुनै कमी नहोस् भनी निर्देशन दिइएको उनले बताए ।
प्रजिअ भट्टराईले भने, “घाइतेको उपचारमा रगत अभाव नहोस् भनी रेडक्रस परिचालन गरी निःशुल्क उपलब्ध गराउन व्यवस्था गरिएको छ ।” विभिन्न स्थानबाट आएको जानकारीको विवरण दिँदै उनले भने, “गण्डक चोकमा यात्रु सवार गाडीलाई नै विनाशकारी हुरीले पल्टाइदिएको छ । सडकमा गुडिरहेका हलुका सवारी साधन र मोटरसाइकलले अनियन्त्रित भएका थिए ।”
बारामा मृत्यु हुनेमा महागढीमाई नगरपालिका–७ का ६५ वर्षीया कोइलीदेवी, सोर्नागाउँपालिका–८ का ३५ वर्षीय तरिफ खान र पहिचान नखुलेका एक भारतीय नागरिक छन् । यहाँ मृत्यु हुनेमा प्रायः भारतीय मजदुर रहेका तथा उनीहरूको परिचय खुल्न नसकेको प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए ।
कलैया उपमहानगरपालिका–१२ स्थित इँट्टा उद्योगका धुवाँ फाल्ने चिम्नी भत्किँदा धेरै मजदुर घाइते भएको उनले जानकारी दिए । घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि वीरगन्ज पठाइएको बाराका मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले जानकारी दिए ।
राति हावासँगै आएको असिनापानीले जिल्लाको पुरैनिया, परशुरामपुर, भरवलिया, पतौरा, मझौलिया, तेलगाई लगायतका स्थानमा धेरै क्षति भएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिए ।
उद्धारमा जुट्न निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ बारा र पर्सामा आएको विनाशकारी हावाहुरीका कारण भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । घटनापछि ट्विट गर्नुहुँदै उनले उद्धारमा गम्भीर हुन र घाइतेको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन पनि दिए । उद्धार र राहतका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको र मौसमले साथ दिने बित्तिकै तत्काल उद्धारमा खट्न पनि उनले आह्वान गरेका छन् ।