दाङ, चैत १६ ।
प्रसिद्ध धार्मिकस्थल प्यूठानको स्वर्गद्वारी जान सजिलोका लागि दाङको घोराहीदेखि केबुलकार निर्माण गर्न निजी क्षेत्रले चासो देखाएको छ । दाङको घोराहीदेखि स्वर्गद्वारी जोड्ने आठ किलोमिटर लामो केबुलकार निर्माण गर्न लागिएको छ । जसका लागि निजी क्षेत्रवाट घोराही स्वर्गद्वारी केबुलकार प्रालि स्थापना भइसकेको छ ।
केबुलकार प्रालिका प्रतिनिधि माधव घिमिरेले आठ किलोमिटर लामो केबुलकार निर्माण गर्न साढे पाँच अर्ब लगानी लाग्ने अनुमान गरिएको बताए । ‘साढे पाँच अर्बको लगानीमा दाङदेखि प्यूठानको स्वर्गद्वारी जोड्ने केबुलकार निर्माणको योजना बनाएका छौं,’ घिमिरेले भने ‘हामी स्वर्गद्वारीलाई देशकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न चाहन्छौ ।’
दुई जिल्ला जोड्ने केवुलकार निर्माण गर्नको लागि संस्था दर्ता गरिएको, सिफारिस लिइएको, जग्गा खरिद गरिएको र कति लिजमा लिने काम सकिएको घिमिरेले बताए । ‘अब फाइनल डिपीआर बनाउने काम भइरहेको छ,’ घिमिरेले भने ‘चार बर्षमा घोराही–स्वर्गद्वारी केबुलकार चढेर जान मिल्ने गरी काम अघि बढाउने योजना छ।’
निर्माण गर्ने भनिएको केबुलकारको योजनामा चारवटा स्टेशन रहने, २७ वटा पोलमा केबुलकार अडिने जानकारी दिइएको छ । केवुलकारको एउटा डिब्वामा ६ जनासम्म मानिस अटाउने क्षमताको निर्माण गर्ने योजना रहेको घिमिरेले बताए । चर्चित धार्मिकस्थल प्यूठानको स्वर्गद्वारी पुग्ने दुईवटा रुटबाट जाने गरिन्छ । दाङको भालुवाङ–भिङ्ग्री हुदै स्वर्गद्वारी पुग्न झण्डै साढे चार घण्टा जति लाग्ने गर्छ ।
अर्को रुट भनेको दाङको घोराही हुँदै रोल्पाको होलेरीबाट पनि स्वर्गद्वारी पुग्न सकिन्छ । यो बाटो जाँदा कम्तिमा साढे पाँच घण्टा लाग्ने गर्छ । तर यदि केबुलकार सञ्चालनमा आयो भने झण्डै २० मिनेटमा दाङको घोराहीबाट स्वर्गद्वारी पुग्न सकिने घिमिरेले बताए । दाङ स्वर्गद्वारी केवुलकारले जोड्ने सके यसले दाङ र प्यूठान दुबै जिल्लाको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।