सल्यान, ५ चैत ।
होली पर्वको अवसर पारी सल्यानको कपुरकोट बजार सरसफाई गरिएको छ । बजार ब्यवस्थापन तथा सरसफाई समितिको अगुवाइमा वित्तीय संस्था, प्रहरी, ब्यापारी, ब्यवसायी, युवाहरुलगायतले मंगलबार कर्णाली प्रदेशको प्रवेशद्वारको रुपमा रहेको कपुरकोट बजार सरसफाई गरेका हुन् ।
कपुरकोटमा नियमित रुपमा ट्रेक्टरमा फोहोर उठाएर डम्पीङ साइटमा फाल्ने गरिए पनि होली पर्वको अवसरमा सबै एकजुट भएर सडक, नालाको सरसफाई गरिएको बजार ब्यवस्थापन समितिका अध्यक्ष रुपक बुढाले जानकारी दिए । सरसफाई कार्यक्रममा सहभागीहरुले जो कोहिले पनि आफ्नो घर, पसल अगाडि सफा राख्नुपर्ने र घर नजिकको सडकसमेत सफा राख्नुपर्नेमा जोड दिएका थिए ।
कर्णालीको प्रवेशद्वारको रुपमा रहेको कपुरकोट बजारलाई सफा, शुन्दर राख्न सकिएन भने कपुरकोटबासीको सभ्यता नदेखिने भएकाले सरसफाईको महत्व सबैले बुझ्न आवश्यक रहेको सहभागीहरुको जोड थियो ।