तुलसीपुर, चैत्र ३ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले सभामुख कृष्णवहादुर महरालाई तुलसीपुर क्षेत्रका केन्द्रीय योजनाहरु बुझाएका छन् । नगरप्रमुख पाण्डेले आगामी आर्थिक वर्षको वजेटमा योजनाहरु समावेश गर्नका लागि आग्रह स्वरुप योजनाहरु पेश गरेका हुन् ।
नगरप्रमुखको कार्यकक्षमा भएको भेटघाटमा सभामुख महराले यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सबै सभासदहरुसँग छलफल गरेर महत्वपूर्ण योजनाहरुलाई वजेटमा समावेश गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । “यहाँले प्रस्तुत गर्नुभएका योजनाहरुप्रति म आजदेखि नै पहल गर्नेछु” सभामुख महराले भने । उनले मदन भण्डारी राजमार्गको सवालमा केन्द्रमा निर्णय नभएको वताउँदै जुन ठाउँमा राजमार्ग भएपनि अर्को ठाउँलाई वेवास्था नगरिने वताए । “दाङलाई राजमार्गले छोए रोल्पामा नयाँ राजमार्गको विकल्प निकाल्ने र रोल्पामा नयाँ राजमार्गले छोए दाङमा नयाँ राजमार्गको विकल्प निकालिने छ ” महराले भने । उनले विमानस्थलको धावनमार्ग विस्तारका साथै इन्धन डिपोका लागि समेत पहल गर्ने वताए । “सामान्य कारणले इन्धन डिपो आउन सकेको छैन तत्काल त्यसको स्थापना हुनेछ ” महराले आश्वस्त पारे ।
उनले तुलसीपुर उपमहानगरपालिकाले योजना कार्यान्वयनको माग गर्दै अन्य स्थानीय तहभन्दा पहिले नै योजना वुझाएकोमा खुसी व्यक्त गर्दै सभामुख महराले यहाँको योजनामा सबैको सहमति जुटाउन पहल गर्ने वताएका थिए ।
नगरप्रमुख पाण्डेले तुलसीपुर प्रशासनीक हिसावले कुनै पनि केन्द्रका रुपमा नरहेको वताउँदै अन्य क्षेत्रभन्दा यहाँको विकासमा ध्यान दिन महरालाई आग्रह गरेका थिए । “संघीयताका कारणले तुलसीपुर अञ्चल सदरमुकाम समेत रहेन यस्तो अवस्थामा प्रशासनीक दृष्टिले हुने विकास हुने आधार समेत शुन्य छ ” प्रमुख पाण्डेले भने ।
तुलसीपुर उपमहानगरपालिकाको ५३ औ कार्यपालिकाको वैठकले केन्द्रमा वुझाउनका लागि ४१ वटा ठूला प्रकृतिका योजना पारित गरेको थियो । कार्यपालिकाको वैठकले स्मार्ट सिटी परियोजनाका साथै वहुप्राविधिक शिक्षालयको स्थापना, सभागृह निर्माण, बृहत चक्रपथ निर्माण, खानेपानी आयोजना लगायतका योजनाहरु पारित गरेको नगरप्रवक्ता सुर्यवहादुर डाँगीले जानकारी दिए ।