तुलसीपुर,पुस २४ । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको ५ महिनामा १ हजार बढी लैगिंक हिंसाका घटना भएका छन ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार चालु आर्थिक वर्ष २०७९/०८० को ५ महिनाको अवधिमा १ हजार ४ सय ८ वटा लैगिंक हिंसाका घटना भएका हुन । यी मध्ये घरेलु हिंसाका घटना सबैभन्दा बढी छन ।
प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरिक्षक एवं कार्यालय प्रमुख नल प्रसाद उपाध्यायका अनुसार लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा आव २०७९/०८० को साउन देखि मंसिर सम्म घरेलु हिंसाका १ हजार १ सय ५९ वटा घटना भएका छन । घरेलु हिंसा सबैभन्दा बढी कृषि क्षेत्रमा आश्रित परिवारमा हुने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै प्रदेश प्रहरी कार्यालयमा जबरजस्ती करणीका १ सय ४०,जबरजस्ती करणी उद्योग अन्तरर्गत ३९,बहुविवाह ४५,बालयौन दुव्र्यहार १८,बालविवाह २,बोक्सीको आरोप शुन्य,अप्राकृतिक मैथुन ४,अवैध गर्भपतन १ वटा मुद्धा दर्ता भएका छन ।
प्रहरी नायव महानिरिक्षक उपाध्यायले लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ मा ३ हजार ८४ वटा र गत आर्थिक वर्ष २०७८/०७९ मा ३ हजार ५ सय ९२ वटा लैगिंक हिंसाका घटना भएको बताए ।
प्रदेशमा सबैभन्दा बढी हिंसा बाँकेमा भएको देखिएको छ भने हिंसाका घटना कम हुने जिल्लामा रुकुम देखिएको छ । १ हजार ४ सय ८ वटा लैगिंक हिंसाका घटना मध्ये बाँकेमा ३ सय ८६ वटा घटना भएका छन ।
त्यस्तै गुल्मीमा २ सय ५५,रुपन्देहीमा १ सय ७५, पाल्पामा १ सय ३१,बर्दियामा १ सय ३०,दाङमा १ सय ७,नवलपरासी पश्चिममा ४८,अर्घाखाँचीमा ४७,कपिलबस्तुमा ४५,प्युठानमा २३ र रुकुम पुर्वमा २२ वटा हिंसाका घटना भएको प्रहरी नायव महानिरिक्षक उपाध्यायले जानकारी दिए ।
दाङमा १०७ वटा लैगिंक हिंसाका घटना
दाङमा बितेको ५ महिनामा १ सय ७ वटा लैगिक हिंसाका घटना भएका छन । त्यसमध्ये धेरै ४२ वटा घरेलु हिंसाका घटना भएका छन ।
त्यस्तै
जर्बजस्ती करणीका ३६, बहुविवाह १६, जबर्जस्ती करणी उद्योगअन्तर्गत ६, बालयौन दुराचार ६, अप्राकृतिक मैथुन १ वटा मुद्दा दर्ता भएका छन् ।
तथ्याङ्क हेर्दा दाङमा आर्थिक वर्ष २०७७ /०७८मा २ सय ९५ वटा र २०७८ /०७९ २ सय ९१ वटा हिंसाका घटना भएका थिए । समाजमा धेरै हिंसा र बलात्कारका घटना घर–परिवार र आफन्तबाटै हुने गरेको अधिकारकर्मीहरु बताउँछन ।