२०८१ भाद्र २६ गते बुधवार

यातायात र उपचार छुट कार्यान्वयनमा घोराही उपमहानगर अग्रसर


घोराही, २९ फागुन ।
सरकारले जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई दिएको यातायात तथा स्वास्थ्य उपचार छुट कार्यान्वयनमा फितलो देखिएको छ । घोराही उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाले बुधबार सरोकारवालाहरुसँग गरेको छलफल कार्यक्रममा यातायात र उपचार छुटमा कार्यान्वयन फितलो भएको गुनासो उठेको हो ।

नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ नागरिक नगरस्तरीय स्रोत समूहका अध्यक्ष पद्मप्रसाद शर्माले राज्यले दिएको र कानुनमा भएको छुटलाई सेवा प्रदायक निकायले कार्यान्वयन गर्न चासो नदेखाएको बताए । जेष्ठ नागरिकहरुलाई यातायात र स्वास्थ्य उपचारमा ५० प्रतिशत छुटको व्यवस्था गरे पनि सम्बन्धित निकायले कार्यान्वयन नगरेको उनले बताए ।

विभिन्न समयमा बहस हुने भए पनि कार्यान्वयन गर्ने निकायले गम्भीरताका साथ नलिदा राज्यले सम्मानका लागि दिएका छुट बोलीमा मात्रै सीमित भएको जेष्ठ नागरिकहरुले गुनासो गरे । छलफल कार्यक्रममा राप्ती अञ्चल सार्वजनिक यातायात समिति, जलजला समिति र अम्बिकेश्वरी यातायात समितिले भने आफूहरुले परिचयपत्रका आधारमा छुट दिदै आएको बताए ।

त्यसैगरी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपनिर्देशक डा. बसन्त लामिछानेले प्रक्रिया पूरा गरेर आएका बिरामीहरुलाई राज्यले दिएको छुट अनुसार नै सेवा दिएको दाबी गरे । जेष्ठ नागरिकहरुले सेवा दिदा पनि सहज नभएको र झन्झटिलो प्रक्रियाले आफूहरुलाई थप अप्ठेरोमा पार्ने गरिएको गुनासो गरेका छन् ।

शाखा प्रमुख मोतीकुमारी विश्वकर्माले सहजीकरण गरेको कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले सरकारसँगको समन्वयमा जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई दिईने सेवा छुटमा अनिवार्य कार्यान्वयन गर्न आग्रह गरे । सेवा शुल्कमा छुटसँगै यातायातमा दिइने आरक्षणका सिटहरुको सदुपयोग गर्न पनि सुझाव दिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *