दाङ, २९ फागुन ।
घोराही उपमहानगरपालिकाले व्यवसाय दर्ता अभियानलाई तिब्रता दिएको छ । व्यवसाय दर्ता गरेर मात्रै सञ्चालन गर्नुपर्ने भन्दै उपमहानगरले दैनिक कर्मचारीहरुलाई व्यवसाय घरदैलो अभियानमा खटाएको छ । दैनिक दुईजना कर्मचारी व्यवसाय दर्ता भए नभएको बारेमा बुझ्न पसलमा पुग्ने गरेका छन् । पसल दर्ता बिनै सञ्चालन हुँदा पसल वैधानिक नहुनुका साथै राजस्व छली हुने भन्दै उपमहानगरले कर्मचारीलाई बजारमा परिचालन गरेको हो ।
दैनिक दुई दर्जन बढी पसलहरुको अनुगमन गर्दै दर्ता नभएकालाई एक सातामा दर्ता प्रकृयामा आउन पत्र काट्ने गरेको राजस्व शाखा प्रमुख कृष्णकुमार केसीले जानकारी दिए । अनुगमनसँगै दर्ता प्रकृयामा आउनेको संख्यामा बृद्धी हुँदै गएको छ । हिजोआज दैनिक एक दर्जन पसलहरु दर्तामा आउने गरेको शाखा प्रमुख केसीले जानकारी दिए ।
अनुगमनका क्रममा ५० प्रतिशत पसलहरु दर्ता बिनै चलेको पाइएको छ । चालु आर्थिक बर्षमा उपमहानगरको राजस्व शाखामा १ हजार ४ सय ८४ जना पसलहरु दर्तामा आएका छन् भने उपमहानगरमा कुल ६ हजार व्यवसाय दर्ता भएको शाखा प्रमुख केसीले जानकारी दिए ।
पर्यटकीय सम्पदाहरुको अध्ययन गर्दै
यसैबीच घोराही उपमहानगरपालिकाले नगर क्षेत्रमा रहेका पर्यटकीय सम्पदाहरुको अध्ययन तथा पहिचान गर्न थालेको छ । नगरको पर्यटन शाखाले पर्यटकीय क्षेत्रको विकासका लागि अध्ययन र पहिचान गर्न थालेको हो ।नगरस्तरीय पर्यटन प्रवद्र्धन समितिका पदाधिकारीसहित जनप्रतिनिधि र कर्मचारीको टोलीले १९ वटै वडाका पर्यटकीय सम्पदाहरुको अध्ययन थालेको छ ।
यसैक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर ५ को सुनकोट र वडा नम्बर १३ को मौलाकोटमा पुगेर अध्ययन अवलोकन गरेको छ ।प्राचीन इतिहास बोकेका ती क्षेत्रहरुको विकासका लागि योजना बनाउन स्थलगत समिति अध्ययन थालेको हो । नगर प्रमुख नरुलाल चौधरी, संस्कृति तथा पर्यटन समिति संयोजक रमेशकुमार पाण्डे, पर्यटन शाखा प्रमुख बालकृष्ण खनालसहित जनप्रतिनिधि र पर्यटन समितिका सदस्यहरुले ती दुई स्थानको अध्ययन अवलोकन गरेका हुन् ।
पर्यटनसम्बन्धी सम्भाव्य स्थानहरुको खोजी, पहिचान गरेर योजना बनाई कुन क्षेत्रमा कस्तो पूर्वाधार तयार गर्ने ? भन्ने योजना रहेको नगर प्रमुख चौधरीले बताए । पर्यटनबाटै गाउँ–गाउँको विकास गर्न सकिने भन्दै नगर प्रमुख चौधरीले त्यसैको अध्ययनका लागि नगर स्तरीय पर्यटन प्रोफाईल तयार गर्न लागिएको बताए । पर्यटकीय क्षेत्रको विकाससँगै स्थानीयहरुको आयस्तर बृद्धिमा विषेश ध्यान दिएको उनको भनाइ छ । पर्यटकीय क्षेत्रहरुको अध्ययन, पहिचानपछि पूर्वाधार विकासका कार्यक्रम तय गरिने भन्दै उनले त्यसैका लागि अध्ययन र खोजी गर्ने काम भैरहेको बताए ।