दाङ, फागुन २८ । नेपाली कांग्रेसबाट निर्वाचित बहुमत वडा अध्यक्षहरुले मंगलवार तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका बैठक बहिस्कार गरेका छन् ।
नगरका १९ वडाध्यक्ष मध्ये काँग्रेसवाट निर्वाचित १० जना वडा अध्यक्षहरुले नगरप्रमुख घनश्याम पाण्डे मनोमानी ढंगले प्रक्रिया विपरित अगाडि बढेको हुँदा ५३औं कार्यपालिका बैठक बहिस्कार गर्नु परेको बताएका छन् ।
‘बहुमत वडा अध्यक्षहरुलाई बेवास्ता गरी प्रक्रिया विपरित आफू अनुकूलका निर्णय मात्रै गरेपछि काँग्रेस वाट निर्वाचित बहुमत वडा अध्यक्ष हामी सबैले कार्यपालिका बैठक बहिस्कार गरेका हौं,’ पत्रकार सम्मेलनमा वडा नं. ७ का वडा अध्यक्ष टोपबहादुर केसीले भने ।
पत्रकार सम्मेलन वडा नं. १३ का वडा अध्यक्ष डम्मरबहादुर न्यौंपानेले ५३ वटा कार्यपालिका बैठक बस्दासम्म नगरको हितमा हुने निर्णयमा आफुहरुले सहयोग गर्दे आएको भएपनि विषयगत सभापतिहरूसंग समन्वय नै नगरी टेवल मुनिवाट विभिन्न कार्यविधिहरू पेश हुन थाले पछि आफुहरुले बैठक बहिस्कार गरेको जानकारी दिए ।
त्यस्तै तुलसीपुर २ का वडा अध्यक्ष राजु आचार्यले काँग्रेस वाट निर्वाचित वडाध्यक्षहरूलाई बैठकको एजेण्डा फरक दिने र बैठक बस्दै गर्दा नयाँ एजेण्डा ल्याएर जबरजस्ती पास गराउन खोज्ने प्रवृतिका विरुद्ध आफुहरुले बैठक बहिस्कार गरेको बताए ।
पत्रकार सम्मेलनमा उपमहानगरपालिका २ का अध्यक्ष राजु आचार्य, ५ का अध्यक्ष वीरेन्द्रकुमार शाह, ७ का अध्यक्ष टोपबहादुर केसी, ९ का अध्यक्ष घनश्याम ढकाल, ८ का अध्यक्ष बेदबहादुर केसी, १० का अध्यक्ष कुमार लामिछाने, ११ का अध्यक्ष चित्रबहादुर वली, १३ का अध्यक्ष डम्बरबहादुर न्यौपाने, १४ का अध्यक्ष परशुनारायण चौधरी, १७ का अध्यक्ष थलराज पुरीले मेयर पाण्डे मनोमानी ढंगले अगाडि बढे दुभाग्र्य हुने बताएका छन् ।
‘हामी समाजिक कार्य र विकास निर्माणमा एकमतका साथ अगाडि बढ्न खोज्दापनि नेकपावाट निर्वाचितहरु जस्केलावाट निर्णय गराउन थालेको हुँदा बैठक बहिस्कार गर्नु परेको हो,’ वडा नं. ११ का वडा अध्यक्ष वलीले भने । सबै जनप्रतिनिधि एकै भएपनि काँग्रेसवाट निर्वाचितहरुलाई बैठक पूर्व नै दिनुपर्ने अघिल्लो बैठकका एजेण्डाहरु नदिने, बैठकले पारित गरेका एजेण्डा भन्दा बढी एजेण्डाहरु थप्ने जस्ता हर्कतकहरु हुने गरेको हुँदा त्यसप्रति आफुहरुको असहमति रहेको वडा नं. १४ का अध्यक्ष चौधरीले बताए ।