घोराही, २८ फागुन । घोराही उपमहानगरपालिकाले नगर क्षेत्रमा रहेका पर्यटकीय सम्पदाहरुको अध्ययन तथा पहिचान गर्न थालेको छ । नगरको पर्यटन शाखाले पर्यटकीय क्षेत्रको विकासका लागि अध्ययन र पहिचान गर्न थालेको हो । नगरस्तरीय पर्यटन प्रवद्र्धन समितिका पदाधिकारीसहित जनप्रतिनिधि र कर्मचारीको टोलीले १९ वटै वडाका पर्यटकीय सम्पदाहरुको अध्ययन थालेको छ । यसैक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर ५ को सुनकोट र वडा नम्बर १३ को मौलाकोटमा पुगेर अध्ययन अवलोकन गरेको छ ।
प्राचीन इतिहास बोकेका ती क्षेत्रहरुको विकासका लागि योजना बनाउन स्थलगत समिति अध्ययन थालेको हो । नगर प्रमुख नरुलाल चौधरी, संस्कृति तथा पर्यटन समिति संयोजक रमेशकुमार पाण्डे, पर्यटन शाखा प्रमुख बालकृष्ण खनालसहित जनप्रतिनिधि र पर्यटन समितिका सदस्यहरुले ती दुई स्थानको अध्ययन अवलोकन गरेका हुन् ।
पर्यटनसम्बन्धी सम्भाव्य स्थानहरुको खोजी, पहिचान गरेर योजना बनाई कुन क्षेत्रमा कस्तो पूर्वाधार तयार गर्ने ? भन्ने योजना रहेको नगर प्रमुख चौधरीले बताए । पर्यटनबाटै गाउँ–गाउँको विकास गर्न सकिने भन्दै नगर प्रमुख चौधरीले त्यसैको अध्ययनका लागि नगर स्तरीय पर्यटन प्रोफाईल तयार गर्न लागिएको बताए ।
पर्यटकीय क्षेत्रको विकाससँगै स्थानीयहरुको आयस्तर बृद्धिमा विषेश ध्यान दिएको उनको भनाइ छ । पर्यटकीय क्षेत्रहरुको अध्ययन, पहिचानपछि पूर्वाधार विकासका कार्यक्रम तय गरिने भन्दै उनले त्यसैका लागि अध्ययन र खोजी गर्ने काम भैरहेको बताए ।