तुलसीपुर, फाल्गुन २६ । तुलसीपुर इलाका प्रशासन कार्यालयको आयोजना र बबई गाउँपालिकाको समन्वयमा फाल्गुन २४ र २५ गते दुई दिने घुम्ती शीविर पश्चिम दाङको दुर्गम क्षेत्र बबई गाँउपालिका वडा नं. १ गंगटेमा सम्पन्न भएको छ । शिबिरमा नागरिकता प्रमाणपत्र वितरण र मतदाता नामावली दर्ता सेवा प्रदान गरिएको थियो ।
गाँउपालिका अध्यक्ष भुवनेश्वर पौडेल र इलाका प्रशासन कार्यालयका प्रमुख श्रीधर टण्डनबाट संयुक्त रुपमा पहिलो नागरिकता वितरण गरि कार्यक्रमको उद्घाटन गरिएको थियो ।
उक्त शिबिरमा महिला ८६, पुरुष ४१, गरि जम्मा १२७ जनाले नागरिकता प्राप्त गरेका थिए भने मतदाता नामावली तर्फ महिला १०३, पुरुष ६३ गरि जम्मा १६६ जनाले मतदाता नामावली दर्ता गरेका थिए ।
घुम्ती शिबिरमा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सल्यानका प्रमुख टेकराज तिमल्सिना, पुर्व सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद आचार्यले समेत शिविरको निरिक्षण गरेका थिए ।