२०८१ भाद्र २३ गते आइतवार

दाङ भ्यालीले मनायो २३औं वार्षिकोत्सव


तुलसीपुर, २६ फागुन ।
तुलसीपुरमा रहेको दाङ भ्याली इङ्लिस बोर्डिङ स्कुल स्थापना भएको २४ वर्षमा विद्यालयले वार्षिकोत्सव कार्यक्रमको आयोजना गरी वार्षिकोत्सवको फजुल खर्च कटाएर जिल्लामा रहेको सुस्तश्रवण बालबालिकाहरुलाई शैक्षिक सहयोग गरेको छ ।

विद्यालयको २३औँ वार्षिकोत्सवका अवसरमा विशेष कार्यक्रमको आयोजना गरी सुस्तश्रवण तथा बहिरा बालबालिकाहरुलाई प्रोत्साहन स्वरुप कापी, कलमसहित विभिन्न शैक्षिक सामाग्रीहरु प्रदान गरिएको हो । विद्यालयमा सञ्चालन गरिने विभिन्न कार्यक्रमहरुबाट खर्च कटाएर गुरु जजुर मावि रक्षाचौर र प्रावि श्रीगैँमा अध्ययन गरिरहेका एक सय बालबालिकाहरुलाई शैक्षिक सामाग्रीहरु प्रदान गरिएको गरिएको विद्यालयका प्रधानाध्यापक शीला अर्यालले जानकारी दिईन् ।

विद्यालय सञ्चालन समितिका अध्यक्ष तथा संस्थापक प्रिन्सिपल तिलकबहादुर साहुको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष नवराज लामिछानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष लामिछानेले विद्यालयले गरेको सहयोग सबैका लागि उदाहरणीय भएको बताए ।

समग्र तुलसीपुर क्षेत्रको शैक्षिक अवस्थालाई सुधार्नका लागि सर्वप्रथम हरेक विद्यालय बालमैत्री, अपाङ्गमैत्री हुन आवश्यक रहेको भन्दै नगरको समृद्धिका लागि सबैले सहकार्य गर्नुपर्ने बताए । राप्ती वहिरा संघ दाङका अध्यक्ष अजय कुमार शर्माले पहिले बहिरा बालबालिकाहरुलाई समाजले हेर्ने तथा पहिचान गर्ने दृष्टिकोण बदल्न आवश्यक भएको बताए ।

सुन्न नसक्ने भएकै कारण विद्यालयमा पठनपाठनमा निकै समस्या निम्तिएकाले यस्ता बालबालिकाहरुका लागि छुट्टै विद्यालय तथा आवास गृहको व्यवस्था सरकारले गर्नुपर्ने बताए । राप्ती बहिरा संघ तुलसीपुरकी कार्यकारी निर्देशक प्रतिमा शर्माले सकारात्मक सोंचको विकास भयो भने मात्र बहिरा बालबालिकाहरुका लागि सहयोगको स्रोत जुट्न सक्ने बताईन् ।

सरकारले बहिरा बालबालिकाहरुका लागि लगानी गर्न नसक्दा सबै वर्गमा उचित शिक्षाको पहुँच पुग्न नसकेको बताईन् । कार्यक्रमका तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व महासचिव नेत्र वली, विद्यालयका पूर्व अभिभावक ईश्वरीप्रसाद गैरे, पत्रकार भागवत भट्टराईलगायतले शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य शिक्षक जितबहादुर केसी र सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक केशर सिंह बुढाथोकीले गरेका थिए । यसैबीच कार्यक्रमको अवसरमा विद्यालयको वार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । यस्तै विद्यालयले समय–समयमा सञ्चालन गरेको अतिरिक्त क्रियाकलापहरुमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई मेडल, प्रमाणपत्र एवं विभिन्न पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २०७५ फाल्गुन २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *