तुलसीपुर, २१ फागुन ।
हिन्दूधर्मलाई संरक्षण गर्नका लागि तुलसीपुरको ठूलाखालीमा स्थापना गरिएको मन्दिरको सोमबार उद्घाटन गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ ठूलाखालीमा निर्माण सम्पन्न गणेश मन्दिरको महाशिवरात्रीको अवसरमा मन्दिर निर्माण समितिका अध्यक्ष मित्रलाल खड्काको अध्यक्षता वडा नम्बर ४ का वडा अध्यक्ष बालकृष्ण राणाको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो ।
सामूहिक रुपमा खेलिएको देउसी भैलोबाट संकलन भएको रकम र स्थानीयहरुको आर्थिक सहयोगबाट उक्त मन्दिरको निर्माण गरिएको हो ।
यसैबीच उक्त अवसरमा मन्दिरका लागि तीनवटा घण्ट, पूजा सामाग्री विजय वर्कशप तुलसीपुरका प्रोप्राइटर मेघराज श्रेष्ठ तथा अञ्जु श्रेष्ठले ४८ हजार ४ सय ७५ र ३३ हजार ५ सय मुल्य बराबरको गणेशको मूर्ति र साँढेको मूर्ति स्थानीय मनसरा वली र कर्ण बहादुर वलीले प्रदान गरेका छन् । यस्तै मन्दिर निर्माणका लागि नगद तथा जिन्सी सहयोग गर्ने दाताहरुलाई सम्मानसमेत गरिएको छ ।
कार्यक्रममा मेघराज श्रेष्ठ, मित्रलाल खड्का, सुदिप खड्का, गोपाल बुढाथोकी, नवीन कुमार खड्कालगायत अन्य दाताहरुलाई सम्मानसमेत गरिएको हो । मन्दिर निर्माणका लागि ६ हजारभन्दा माथि आर्थिक सहयोग गर्नेहरुको नाम शिलालेखमा नाम उल्लेख गरिएको छ ।
यस्तै सोही स्थानमा रहेको गणेश मन्दिर तथा अन्य मन्दिरको पुनर्निर्माणका लागि सोमबार ८० हजार बढी स्थानीय तथा भक्तजनहरुबाट आर्थिक संकलन भएको छ । गणेश मन्दिर अन्य मन्दिर संरक्षण गर्नका लागि आर्थिक संकलन गरिएको कार्यक्रमका सहभागीहरुले बताए ।
उक्त अवसरमा गुरु जजुर नमुना माविका प्रधानाध्यापक विष्णु प्रसाद आचार्य, समाजसेवी ध्रुव गौतम, प्रणय खड्का, मानबहादुर वली, गणेशबहादुर वली, अप्सरा गिरी, धनमाया वली, मोहवीर खत्रीलगायतले मन्दिर स्थापना गरी उदाहरणीय कार्य गरेको बताए । कार्यक्रममा सम्पूर्ण टोल विकास संस्था तथा स्थानीय समाजसेवी आमा समूहका दिदीबहिनीहरुको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा नोखमाया खड्काले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण धनबहादुर खड्काले गरेका थिए ।