उमा भण्डारी
तुलसीपुर, १२ फागुन ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय (ॐ शान्ति) राप्ती क्षेत्रले आफ्नो रजत जयन्ती मनाएको छ । राप्तीमा कार्यालय स्थापना भएको २५ वर्ष पुगेको अवसरमा रजतजयन्ती मनाइएको राप्ती क्षेत्रीय कार्यालय तुलसीपुरले जनाएको छ । तुलसीपुरमा विशेष समारोहका साथ रजत महोत्सव गरिएको हो ।
शनिबार आफ्नो स्थापनाको २५औँ वर्षको अवसरमा संघीय सभामुख कृष्णबहादुर महराको सहभागितामा रजत जयन्ती महोत्सव गरिएको हो । कार्यक्रममा आध्यात्मिक चिन्तनको महत्व र आवश्यकताको बारेमा सबैले समयमै बुझ्न आवश्यक रहेको कार्यक्रमका सहभागीहरुले बताएका थिए ।
यसैबीच समारोेहको उद्घाटन गर्दै संघीय सभामुख कृष्णबहादुर महराले समाजको रुपान्तरणका आत्ध्यात्म महत्वपूर्ण भएको बताए । उनले धर्म संस्कृति र आध्यात्मले मानिसलाई सफल र सकारात्मक बनाउने बताए । उनले सम्भावित खतरालाई सर्तक गर्दै लैजानका लागि आध्यात्मिक चिन्तनको आवश्यक पर्ने बताए । महराले देशमा भइरहेको असामान्य स्थितिलाई समाधान गर्न अबको संघर्ष निषेध नभएर रुपान्तरण भएको बताए ।
आध्यात्मिक चिन्तनको अभावले देशमा हत्या, हिंसाका गतिविधिहरु बढ्दै जाँदा सही, गलत छुट्याउन नसक्ने अवस्थाको सिर्जना भईरहेको बताए । कुनै पनि काम र कर्म आध्यात्मिक चिन्तन र मार्गबाट मात्र सफल हुने बताउँदै उनले यसलाई सबैले अभियानका रुपमा लिनुपर्ने बताए ।
देशको विकास र राजनैतिक अवस्थाका निम्तिएको समस्या र हिंसाजन्य गतिविधिहरुलाई रोक्नका लागि चेतना र उत्तम सोंचको विकास गर्न आवश्यक भएको उनको भनाई छ । सकारात्मक सोंचको विकास गर्न आवश्यक छ । “कुनै पनि दुई चिजलाई मिलाएर लैजाने हो भने अर्को नयाँ चिजको विकास हुन्छ उनले भने – जसका उदाहरणमा यो संस्थालाई लिनुपर्दछ, धार्मिक मात्र नभई सकारात्मक साेंचको विकास गर्ने वैज्ञानिक विश्वविद्यालय पनि हो ।”
सकारात्मक र नकारात्मक कुरालाई छुट्याउन नसक्ने मानवको सबैभन्दा कमजोेरी भएकाले आफ्नो संवेगहरुलाई उचित तरिकाले प्रयोग गर्नु अत्यावश्यक रहेको बताए । उनका अनुसार समाज रुपान्तरण र समृद्ध राष्ट्र निर्माणको लागि अहिलेको राजनीतिलाई यहि चिन्तनको माध्यमबाट सुधार्नु आवश्यक रहेको छ ।
तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले फाटेको र दुखेको मनलाई सफा गर्न नसक्दा समाजमा विकृति बढिरहेको बताएका छन् । उनले समाज परिवर्तन, लोकतन्त्रको संरक्षण र राष्ट्र समृद्धिका लागि एकआपसको भावना र ध्यानको आवश्यक पर्ने बताए । उनले नेपालको पवित्र भूमिको रुपमा रहेको दाङलाई विश्व शान्तिको क्षेत्रको रुपमा स्थापना गर्न ब्रह्माकुमारी विश्वविद्यालयसंग प्रस्तावसमेत राखे ।
नेपाली काँग्रेसका जिल्ला सभापति सभापति कीर्तिबहादुर खड्काले आध्यात्मिक चिन्तनको मनन, अनुशरण सवैले गर्नुपर्ने बताए । मानवीय जीवनमा रहेको भौतिक र आध्यात्मवादलाई अनुशरण गर्दै लगे शान्तिपूर्ण राष्ट्रको निर्माण गर्न आवश्यक रहेको बताए । मानिसलाई भौतिकवादले वाँधेकाले कुरिति, फेसन, भ्रष्टाचार, बढेको ब्रह्माकुमारी विश्वविद्यालय पोखराकी सञ्चालिका शोभा दिदीले बताईन ।
समाज आँटबाट नभई दाँतबाट हाँस्ने गरेकाले विभिन्न विकृति बढिरहेको उनले बताइन । कार्यक्रमा ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालयका शैलेसराज बराल, पतञ्जली योग समिति प्रदेश नं. ५ प्रेम शाह, महिला रक्षक सञ्जाल दाङकी निवर्तमान संयोजक शुष्मा गिरी, नागरिक समाज दाङका निवर्तमान संयोजक टिकाराम रेग्मीलगायतले समाजमा आध्यात्मिक चिन्तनको महत्व अत्यावश्यक भएको बताए ।
समाजलाई कसरी सकारात्मक दिशातर्फ लैजान सकिन्छ भन्ने चिन्तनको आवश्यकता रहेको छ । जसका लागि यसलाई सबैले संकल्प र विचारलाई स्वर्णीम बनाउनु पर्ने उनीहरुले बताए । उक्त अवसरमा स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमकी अध्यक्ष एवं ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय तुलसीपुरकी संयोजक राजयोगिनी गीता दिदिले १ हजार ५ सयभन्दा बढी शाखाहरु स्थापित गराउन सफल भएको बताइन् । कार्यक्रमको सहजीकरण माधव तिमिल्सिनाले गरेका थिए । उक्त अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मानसमेत गरिएको थियो ।
प्रदेश टुडे राष्ट्रिय दैनिकबाट